हुम्लाका तीन स्थानीय तहमा खटिए चिकित्सक

भौगोलिक विकटताका कारण स्वास्थ्य समस्या भोगिरहेका नागरिकलाई चिकित्सकीय सेवा प्रदान गर्न तीन जना चिकित्सकहरु पठाएको हो ।

मंसिर १०, २०८२

डीबी बुढा

Doctors deployed to three local levels in Humla

What you should know

जुम्ला — कर्णाली प्रदेश सरकारले हुम्लाको तीन स्थानीय तहमा तीन जना चिकित्सक खटाएको छ । भौगोलिक विकटताका कारण स्वास्थ्य समस्या भोगिरहेका नागरिकलाई चिकित्सकीय सेवा प्रदान गर्न तीन जना चिकित्सकहरु पठाएको हो ।

हुम्लाको खार्पुनाथ, सर्केघाट र अदानचुली गाउँपालिकामा चिकित्सक जनशक्ति खटाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए । उनका अनुसार अब हुम्लामा पनि चिकित्सकीय सेवा स्थानीय तह स्तरमा विस्तार भएको छ । खार्पुनाथमा डा. डिजेल यादव, सर्केघाटमा डा. इश्वरी पौडेल र अदानचुलीमा डा. गणेश जैसी पठाइएको हो ।

डा. डिजेल यादव खार्पुनाथमा हाजिर भएर सेवा दिइरहेका छन् । आवश्यक स्वास्थ्य संरचना निर्माण नहुँदा अदानचुली र सर्केघाटमा चिकित्सकहरु पुगेका छैनन् । उनीहरु जिल्ला अस्पताल हुम्लामा अस्थायी रुपमा कामकाजका लागि खटिएको प्रमुख डा. तिवारीले जानकारी दिए ।

‘पालिकामा संरचना तयार हुने वित्तिकै उनीहरु कार्यस्थलमा जाने व्यवस्था मिलाइनेछ,’ प्रमुख तिवारीले भने, ‘त्योभन्दा अगाडि जिल्ला अस्पतालमै बसेर सेवा प्रदान गर्नेछन् ।’

स्वास्थ्यकर्मीको अभावले उपचारबाट बञ्चित हुम्लाबासी एकैपटक तीनवटा डाक्टर स्थानीय तहमा खटिदा उत्साहित छन् । भौगोलिक विकटताका बीच स्थानीय तहमा स्वास्थ्य सेवा प्रदान भइरहेको थियो । चिकित्सकीय सेवा दिन नसक्दा बिरामीहरु महँगो खर्च गरेर सदरमुकाम सिमीकोट आउनुपर्ने बाध्यता थियो, प्रमुख तिवारीले भने, ‘अब प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउन चिकित्सक पठाएको छ । यो हुम्लाको स्वास्थ्य क्षेत्रमा राम्रो अवसर पनि हो ।’

प्रदेश सरकारले चिकित्सक जनशक्ति परिचालन गरेपछि स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा बलियो हुने अपेक्षा गरिएको छ । अहिले हुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सक जनशक्ति पठाएर स्वास्थ्य सेवा दिइरहेको छ । पटक–पटक विशेषज्ञ शिविर चलाएर पनि जटिल प्रकारको रोगको उपचार गर्ने गरिएको थियो ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully