विधिसम्मत प्रक्रियाबाट माग राख्न मुख्यमन्त्री कँडेलको सुझाव
What you should know
कालीकोट — सान्नीत्रिवेणी गाउँपालिकाको नयाँ भवन उद्घाटन गर्न मंगलबार कालीकोट पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग स्थानीयले विभिन्न माग राखेका छन् ।
कर्णाली राजमार्ग हुँदै कालीकोट पुगेका मुख्यमन्त्री कँडेललाई सान्नीत्रिवेणी गाउँपालिकाको तर्फबाट ५ बुँदे मागपत्र बुझाउँदै अध्यक्ष मोहनबहादुर केसीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीले सिस्टममा काम गरौं भनेर योजना वितरणमा कडाई गरे पनि कर्मचारीले बीचबाटै योजना र बजेट घुसाएर पक्षपात गरेको गुनासो पोखे ।
'मुख्यमन्त्रीको खर्च कटौती, योजनाको प्रभावकारिता, झ्यालबाट योजना बाँड्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता सकारात्मक छ,' उनले भने, 'तर, व्यवहारमा धेरै योजना सुर्खेत र दैलेखकेन्द्रित मात्र भए । पछाडि परेको खास कर्णालीका आवश्यकतामा ध्यान पुगेन ।'
उनले सान्नीत्रिवेणीका लागि ५ वटा योजनाको माग पत्र पेस गरे । उनले सान्नीत्रिवेणीमा ५ शय्याको पालिका अस्पताल, सान्नीगाडदेखि पालिका केन्द्रसम्म आरसीसी सडक, पञ्चदेवल माविको पक्की भवन, कोली बगर खोलामा पक्की पुल र पालिकास्तरको खेल मैदान निर्माणका लागि प्रदेश सरकारसँग माग राखे ।
'बजेटमा परेको योजना पनि खर्च कटौतीका नाममा काटियो,' उनले गुनासो पोखे, 'ठूलो योजना नदिने, साना कार्यान्वयन नगर्न पत्राचार गर्ने सरकारको नियत ठीक भएन । उनले सान्नी त्रिवेणीको मुम्रा जोड्ने कोली बगर पक्की पुलका लागि गत वर्ष १ करोड बजेट स्वीकृत भए पनि संघीय सरकारले ३ करोडभन्दा मुनिका योजना कार्यान्वयन गर्ने भन्दै पत्राचार गरेको गुनासो पोखे ।
त्यस्तै, यहाको पञ्चदेवल मावि मेहेलमुडीले मुख्यमन्त्रीलाई विद्यालयमै बोलाएर १० कोठे पक्की भवन, खेलमैदान, फर्निचर, डिजिटल डिभाइसलगायतका मागपत्र बुझाएको छ । २० वर्षअघि बनेको टीनको छाना भएको जीर्ण भवनमा बालबालिका छन् । प्रधानाध्यापक हिरामणि सिम्खडाले भने, 'बस्ने ठाउँकै अभाव छ, प्रदेश सरकारले हेरिदिनुपर्यो ।'
उनले विद्यालयले वृक्षारोपण गरेर हरित विद्यालय बनाउन प्रयास गरेको सुनाउँदै शिक्षक, विद्यार्थी नियमितता, अभिभावक अन्तरक्रियामार्फत पैसा नलाग्ने काम विद्यालयले गरिरहेको सुनाए ।
सान्नीत्रिवेणीमा सरकारबाट पाइने सेवा सुविधा, स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा नपाएको गुनासो गर्दै जेन-जी युवाको तर्फबाट स्थानीय सुनिश शाहीले एमबीबीएस डाक्टरको व्यवस्था हुनुपर्ने, सरकारले निःशुल्क दिने भनेका ९८ प्रकारका औषधि पाउनुपर्ने, एक्स-रेलगायतका उपकरण हुनुपर्ने मागपत्र पेस गरे ।
सबै व्यक्ति तथा निकायबाट आएका जायज माग पूरा गर्न प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्री कँडेलले आश्वासन दिए । उनले हातमा मागपत्र थमाउने र पूरा गरी दिन्छु भनेर ढाँट्न नआउने सुनाउँदै मागहरुको प्राथमिकीकरण गरेर गाउँकार्यपालिका जिल्ला सभा हुँदै प्रदेशका कार्यालय र मन्त्रालयमा पेस गर्न सुझाव दिए ।
उनले कर्णालीमा विकास गर्छु भनेर काम लिने तर वर्षौंसम्म काम नगरेर अलपत्र पार्ने प्रवृत्ति रहेको चर्चा गर्दै कर्णालीको समृद्धिका लागि खुलालु हुम्ला-हिल्सा मानसरोवर जोड्ने कर्णाली करिडोर, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगु रारा पुग्ने कर्णाली राजमार्ग र डोल्पा फोक्सुन्डो जोड्ने भेरी करिडोर, पर्यटन र जलविद्युत् प्रमुख रहेको सुनाए ।
उनले वितरणमुखी योजनाले कर्णालीवासीको जीवनस्तर सुधार हुन नसक्ने भएकाले योजनाको प्राथमिकीकरणमा प्रदेश सरकारले जोड दिएको बताए ।
