सान्नी त्रिवेणीकाे मेहेलमुडीमा पालिकाकाे भवन निर्माण गर्न ३१ परिवारले ८ हजार वर्गमिटर धानखेत निःशुल्क दिएका हुन् ।
What you should know
कालीकोट — सान्नी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि निःशुल्क जग्गा दिने ३१ जनालाई सम्मान गरिएको छ ।
गाउँपालिकाको भवन निर्माणका लागि जग्गा दिनेहरुलाई मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा गाउँपालिकाले सम्मान गरेको हो । पालिकाले जग्गादाताको सूची बनाएर नवनिर्मित भवनमा शिलापत्र समेत राखेको छ ।
गाउँपालिका उपाध्यक्ष पार्वतीसिंह सञ्ज्यालले पालिकाको केन्द्र मेहेलमुडी कायम गर्न ८ हजार वर्गमिटर धानखेत निःशुल्क दिने स्थानीयको गुन पालिकाले कहिल्यै नर्बिसिने बताइन् । ‘केही दाजुभाईले अन्यत्र एक कित्ता जग्गा नभए पनि पालिकाकालाई निशुल्क दिनुभएको छ । खेती गरेर खाने जग्गा दिने दानवीरलाई सम्मान गरेका हौं,’ उनले भनिन् ।
०७७ मा ४ जना दलित समुदायकासहित ३१ जनाले जग्गा दिएपछि गाउँपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाएको थियो । एउटा मात्र कित्ता जग्गा भएका दलित समुदायका ब्यासी लुवार, वीरे लुवार, दलवीर लुवार र जने लुवारले ६ सय वर्गमिटर जग्गा पालिकाको नाममा रजिष्ट्रेशन गरिदिएको वडा ६ का अध्यक्ष नहकुल सञ्ज्यालले बताए ।
आफ्नो ठाउँको विकासका लागि सुकुम्बासी हुनु परे पनि जग्गा दिन तयार भएको जग्गादाता वीरे लुवारले बताए । ‘पालिकाले सम्मान गरेकामा खुसी लागेको छ । आफ्नो ठाउँ बन्छ भने ज्याला मजदुरी गरेर पनि परिवार पाल्छु,’ उनले भने । अन्य जग्गादाता ४ जना उपाध्याय र २३ जना सञ्ज्याल थरका छन् । ०७९ साउनमा ७ करोड ८८ लाख ४४ हजार ९ सय ४८ मा ठेक्का भएको भवन निर्माण सकिएपछि सोमबार मुख्यमन्त्री कँडेलले भवन उद्घाटन गरेका थिए ।
