किटेनीमा २ सय ६० मिटर र रानीकोटमा ९० मिटर सडक ढलानको काम सम्पन्न भएपछि आजदेखि पूर्ण रूपमा सवारी साधनहरू गुड्न थालेका हुन् ।
रुकुम पश्चिम — दुई स्थानमा मर्मतका लागि भनेर गत कार्तिक १२ गतेदेखि बन्द गरिएको मध्यपहाडी लोकमार्गको रुकुम पूर्व–पश्चिम खण्ड आज सोमबारबाट सञ्चालनमा आएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा सडक ढलान कार्य सम्पन्न भएपछि बाटो २५ दिनपछि बाटो खोलिएको हो ।
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीका अनुसार किटेनीमा २ सय ६० मिटर र रानीकोटमा ९० मिटर सडक ढलानको काम सम्पन्न भएपछि आजदेखि पूर्ण रूपमा सवारी साधनहरू गुड्न थालेका हुन् ।
कात्तिक १२ गते १८ दिनका लागि भनेर बन्द गरिएको यो खण्डको आवमगन थप ७ दिन थपेर आजबाट सुरु भएको हो । यो खण्डमा रुकुम पश्चिमसँगै जाजरकोट र डोल्पासम्मका सवारी साधनहरू पोखरा–काठमाडौंसम्म आवतजावत गर्दछन् ।
