काम रोकिँदा लाखौंका निर्माण सामग्री त्यत्तिकै खेर गएका छन् भने केही सामग्री चोरी भइसकेका छन् ।
What you should know
सल्यान — जिल्ला अस्पताल सल्यानमा निर्माणाधीण दुई भवनको म्याद थप हुन नसक्दा दुई वर्षदेखि काम रोकिएको छ ।
सुरुवाती चरणमा निर्माण व्यवसायीको लापरबाही र गत वैशाखमा म्याद थपका लागि मन्त्रालयको सूचनापछि कार्यालयले कागजपत्र पेस गरे पनि म्याद थप हुन नसक्दा भवन अलपत्र परेको हो ।
२०४४ सालमा १५ शय्यामा सञ्चालित जिल्ला अस्पताल सल्यानलाई ५० शय्या तथा अन्य सेवा विस्तार गर्न भौतिक संरचना अपुग भएपछि संघीय सरकारले २०७७ मा १८ करोड बजेट विनियोजन गरेपछि २०७८ देखि उक्त भवन निर्माण सुरु गरिएको थियो । ठेक्का प्रक्रियाद्वारा सुरु गरिएको भवन निर्माण गर्ने जिम्मेवारी आरोग्य सुवेदी जेभी कम्पनीले पाएको थियो ।
निर्माणको काम २०८० मा सम्पन्न गर्नुपर्ने थियो । ७५ प्रतिशत काम सम्पन्न भएको भवनको २०८० मा म्याद सकिएको र त्यसपछि पटकपटक आह्वान गर्दा म्याद थप हुन नसकेर काम रोकिँदा लाखौंका निर्माण सामग्री त्यत्तिकै खेर गएका छन् भने केही सामग्री चोरी भइसकेका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले भवन निर्माणको काम रोकिएपछि कोठाको अभावमा कार्यालयले दिँदै आएको विभिन्न किसिमका सेवा विस्तार गर्न नसकेको बताए । ‘२०७७ मा ठेक्कासँगै सम्झौता गरेको आरोग्य निर्माण सेवा कम्पनीले कोरोनाको कारण देखाउँदै सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । गत वैशाखमा मन्त्रालयले म्याद थपका लागि सूचना प्रकाशन गरेको थियो । ठेकदार र कार्यालयले मन्त्रालयमै पुगेर कागजपत्र पेस गरेका थियौं तर म्याद थप हुन सकेन ।'
भवन निर्माणको काम अलपत्र हुँदा जनरल, इमर्जेन्सी वार्डमा बिरामी कोचाकोच राख्नुपर्ने अवस्था रहेको र अन्य सेवासमेत प्रभावित भएको उनले बताए ।
म्याद थपका लागि स्वास्थ्य सेवा कार्यालय सल्यान तथा अस्पताल विकास समितिबाट पटकपटक विभागमा पत्राचार गर्दै आए पनि थप हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए ।
