सुर्खेतमा मात्रै १ हजार २ सय ९८ जनामा डेंगु संक्रमण भएको छ ।
What you should know
वीरेन्द्रनगर — कर्णाली प्रदेशमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । जाडो बढे पनि कर्णालीमा डेंगुको संक्रमण घटेको छैन । सरसफाइमा सर्वसाधारणको बेवास्ताले गर्दा डेंगुको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । चालु आर्थिक वर्षको असारदेखि असोजसम्म कर्णाली प्रदेशमा १ हजार ४ सय २४ जनामा डेंगु संक्रमण देखिएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा बढी हो । सबैभन्दा धेरै प्रदेश राजधानी सुर्खेतमा छन् । सुर्खेतमा मात्रै १ हजार २ सय ९८ जनामा डेंगु संक्रमण भएको छ । विशेष गरी साउनदेखि असोज महिनामा डेंगुका बिरामी अत्यधिक देखिएका हुन् ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यले सुर्खेतपछि रुकुम पश्चिममा ७८ जना र दैलेखमा २६ जनामा डेंगु संक्रमण देखिएको बताए । सल्यानमा नौ जना, कालीकोटमा छ, डोल्पा र जाजरकोटमा तीन/तीन तथा मुगुमा एक जनामा संक्रमण भएको छ । हुम्ला र जुम्लामा डेंगुका बिरामी नदेखिएको निर्देशनालयले जनाएको छ । यो अवधिमा सुर्खेतमा डेंगुबाट एक जनाको मृत्युसमेत भएको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत आचार्यले व्यक्तिगत तथा संस्थागत बेवास्ताले डेंगु फैलिँदै गएको बताए । जमेको सफा पानीका कारण लामखुट्टेबाट सर्ने यो रोगबाट बच्ने उपाय भनेको पानी जम्न नदिने हो तर घरको छतमा, आँगनमा जमेको पानी फाल्नसमेत बेवस्ता गर्दा डेंगु बढेको उनको भनाइ छ । सबैले आ–आफ्नो घरबाटै सचेतना अपनाउने हो भने डेंगुबाट बच्न सकिने भए पनि लापरबाही गर्दा रोग फैलिन पुगेको उनले बताए ।
अहिले स्थानीय तहलाई अधिकार दिइएको छ । खोज र नष्ट गर्ने अभियान संचालन गरेर पानी जम्न नदिइ यो रोगबाट बच्न सकिने भन्दै उनले यदि यस्तै लापरबाही बढ्यो भने अवस्था जटिल हुन सक्ने उल्लेख गरे । पानी जम्न नदिने, शरीर छोप्ने कपडा लगाउने, सुत्दा झुलभित्र सुत्ने नै यो रोगबाट बच्ने उपाय हो । अहिले सुर्खेतमा रहेका सरकारी तथा निजी अस्पतालमा डेंगुका बिरामी खचाखच छन् ।
सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले पनि चिसो मौसम सुरु भइसक्दा पनि सुर्खेतमा डेंगु रोगमा कमी नआएकामा चिन्ता व्यक्त गरे । जमेको पानी हटाउन र आफ्ना वरपरको प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे । हिउँदयामको चिसोले लामखुट्टेमा कमी आउने मानिए पनि त्यो आउन नसकेको उनले बताए । निजी अस्पताल तथा मेडिकलहरूमा पनि दैनिकजस्तो बिरामी उपचारका लागि पुग्ने गरेका छन् । मौसम र लापरबाहीका कारण डेंगु रोग फैलिँदै गएकाले सरसफाइमा ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।
