सेराबाडा–पादमघाट सडकमा विश्व बैंककाे ५१ करोड सुनिश्चित

कालीकोटका ९ मध्ये ८ स्थानीय तहको केन्द्रसम्म सडक पुगे पनि महाबै गाउँपालिका कार्यालय पुग्न कर्णाली राजमार्गको सेराबाडाबाट ३ घण्टा हिँड्नु पर्छ ।

मंसिर ७, २०८२

तुलाराम पाण्डे

World Bank secures Rs 510 million for Serabada-Padmaghat road

कालीकोट — सडक सञ्जालसँग जोडिन नसकेको महाबै गाउँपालिकाको केन्द्र सेराबाडा–पादमघाट सडकका लागि करिब ५१ करोड लागतको ठेक्का लगाउने तयारी भएको छ ।

कर्णाली राजमार्गको सेरावाडादेखि महाबै गाउँपालिकाको केन्द्र पादमघाटसम्मको ६ किलोमिटर सडक निर्माणका लागि विश्व बैंकको सहयोगमा ५१ करोड ३२ लाख ६ हजार ७ सय १९ रुपैयाँको बजेट स्वीकृत भएको हो । 

कालीकोटका ९ मध्ये ८ स्थानीय तहको केन्द्रसम्म सडक पुगे पनि महाबैको केन्द्र पुग्न कर्णाली राजमार्गको सेराबाडाबाट ३ घण्टा हिँड्नु पर्छ । महाबै जोड्न दैलेखबाट सडक निर्माण भइरहे पनि जिल्ला सदरमुकाम जान यातायातको सुविधा छैन ।

महाबै जाने बाटोमा पर्ने तिला नदीमा गत वर्ष पुरानो बेलिब्रिज जडान गरिएको थियो । पादमघाट खोलामा पक्की पुल निर्माणका लागि सडक विभागले ठेक्का लगाएर काम भइरहेको छ ।  

गाउँपालिकालाई जिल्ला सदरमुकाम जोड्न विश्व बैकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अर्न्तगत बजेट प्राप्त भएपछि ठेक्का लगाउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘तिला नदीको सेरावाडामा बेलिब्रिज बनाइसकेका छौं । पादमघाट खोलामा पनि पक्की पुल निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘अब पालिका केन्द्रसम्म पक्की सडक बन्ने छ ।’ 

गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले कर्णाली राजमार्गको सेराबाडामा तिला नदी तरे पछि कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने बताए ।  

चालु आवमा कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालयको समेत लागत साझेदारी रहने उक्त आयोजनाका लागि प्रदेश सरकारले १० करोड विनियोजन गरेको छ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully