मौलाहाले–दार्माकोट सडक कालोपत्र सुरु

यो काम सकिएपछि मौलाहालेदेखि दार्माकोटसम्म बर्खामा पनि यातायात नियमित हुने छ ।

मंसिर ७, २०८२

विप्लव महर्जन

Blacktopping of Maulahale-Darmakot road begins

सल्यान — दार्मा गाउँपालिका अन्तर्गत मौलाहाले–फारुला–दार्माकोट सडक खण्ड स्तरबृद्धि तथा कालोपत्रको काम चार महिनापछि सुरु भएको छ ।

गत असारदेखि बर्षातका कारण रोकिएको मौलाहालेदेखि डेढ किलोमिटर कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाले बताए । 

उनका अनुसार मौलाहाले–फारुला–दार्माकोट–नुवाकोट सडक स्तरबृद्धि र कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयबाट २०८१/०८२ मा अढाई करोड रुपैयाँमा शिशिर एबी माबु निर्माण कम्पनीले काम गर्ने जिम्मा पाएको थियो ।

निर्माण कम्पनीले सडक चौडा, नाला, पर्खालका साथै २ सय ५० मिटर स्ल्याब ढलान र डेढ किलोमिटर कालोपत्र गर्ने सम्झौता गरेको थियो । कम्पनीले गत वर्ष ग्राभेल, स्ल्याब ढलान, पक्की पर्खालको काम यसअघि नै सकिसकेको थियो । बाँकी काम मंसिरभित्रै सकिने थापाले बताए । 

यो काम सकिएपछि बर्खामा पनि मौलाहालेदेखि दार्माकोट नियमित यातायात संचालन हुने दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully