अहिले सल्यानका श्रीनगर, खलंगा आसपासका क्षेत्रमा इन्टरनेट सेवा पूर्ण अवरुद्ध भएको छ भने स्थानीय, संघसंस्था तथा कार्यालय प्रभावित भएका छन् ।
सल्यान — जिल्लाको श्रीनगर आसपास अव्यवस्थित रुपमा बिजुलीको पोलमा जडान गरिएका विभिन्न कम्पनीका इन्टरनेट तार विद्युत् प्राधिकरण सल्यानले गएराति काटेको छ ।
बिजुलीको पोलमा तार जडान गरेबापत इन्टरनेट कम्पनीले प्राधिकरणलाई वार्षिक शुल्क तिर्न सम्झौता गर्नुपर्नेमा बेवास्ता गरेको भन्दै प्राधिकरणले टेकमाइन्ड, वर्डलिंक, न्योलिंकका तार काटेको हो । तार काटेपछि अहिले श्रीनगर, खलंगा आसपासका क्षेत्रमा इन्टरनेट सेवा पूर्ण अवरुद्ध भएको छ भने स्थानीय, संघसंस्था तथा कार्यालय प्रभावित भएका छन् ।
पोल अस्तव्यस्त हुने गरी तार जडान गरेको र पोल प्रयोग गरेबापत शुल्क तिर्न सम्झौता गर्न बारम्बार आग्रह गर्दा पनि चासो नदिएपछि चेतावनीस्वरुप तार काटेको प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले बताए । सल्यानमा नेपाल टेलिकमलगायत आधा दर्जन इन्टरनेट कम्पनीले बिजुलीको पोल प्रयोग गरेको उनको भनाइ छ ।
प्राधिकरणले ३ गतेसम्म सम्झौता गर्न सूचना जारी गरेामा २ गते नै कार्यालयमा गएर सम्झौता गरे पनि आफ्नो कम्पनीको तार नियम काटिएको न्योलिंकका सञ्चालक सुमन केसीले बताए ।
टेकमाइन्डका प्रदीप बस्नेतले प्राधिकरणले सूचना प्रकाशन गरे पनि मुख्य कार्यालयसँग परामर्श गर्दा केही ढिलाइ भएकाले तोकेको समयमा सम्झौता गर्न नसकिएको बताए ।
