संघीय खानेपानी कार्यालयका लागि बनेको भवनको ताला भने यथावत् नै छ । कार्यालय खारेज हुँदा बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अलपत्र बनेको छ ।
जुम्ला — जुम्लास्थित संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयमा लागेको ताला चार महिनापछि खुलेको छ । गत असारमा संघीय खानेपानी कार्यालय सरकारले खारेज गरेपछि पुन:स्थापनाको माग गर्दै जिल्लास्थित राजनीतिक दललगायत सरोकारवालाले ताला लगाएका थिए ।
तीव्र आलोचना र आन्दोलन हुन थालेपछि माग सम्बोधनका नाममा जुम्ला खानेपानी कार्यालयलाई फिल्ड कार्यालयका रूपमा जिम्मेवारी दिइएको थियो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थायी कार्यालय स्थापना गर्न पहल जारी राख्ने भन्दै फिल्ड कार्यालयका कामकाज सहज बनाउन ताला खोलिएको बताए ।
सधैं ताला लागिरहने, सेवाग्राहीले सेवा लिन असहज भइरहने भएकाले ताला खुलाइएको हो । स्थायी कार्यालय खोल्न जुम्लामा सांसदहरूले समेत दबाब दिएका थिए । 'अहिले कामकाजका लागि ताला खोल्यौं,' प्रमुख आचार्यले भने, ‘स्थायी कार्यालय पुन:स्थापनाका लागि निरन्तर पहल जारी नै रहन्छ ।’
फिल्ड कार्यालयका कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखि कार्यालयमा ताला लाग्दा सेवाग्राहीले सास्ती पाइरहेको गुनासो गरेको बताए । उनले भने, ‘सेवाग्राहीको गुनासो र कार्यालयमा कामकाज गर्न कठिन भएकाले ताला खोल्न माग गरिएको थियो । खुल्यो । राम्रै भयो ।’
संघीय खानेपानी कार्यालयका लागि बनेको भवनको ताला भने यथावत् नै छ । कार्यालय खारेज हुँदा बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अलपत्र बनेको छ । केन्द्रबाट कामकाजमा सहज हुने खालको व्यवस्था नहुँदासम्म ताला नखोल्ने चेतावनी प्रमुख आचार्यले दिए ।
