गाउँमै व्यापारी आउन थालेपछि अहिले किसानले व्यवसायिक सिमी खेती गर्न थालेका छन् ।
What you should know
जुम्ला — सिमी किन्न व्यापारी गाउँमा पुग्न थालेपछि किसान उत्साहित छन् । अहिले गाउँमै किसानले प्रतिकेजी २ सय रुपैयाँमा सिमी बेचिरहेका छन् । जिल्लाका टुक्रे बजारहरुमा सिमी खरिद गरेर भण्डारण गर्ने कार्यमा व्यापारीहरु जुटेका छन् ।
उनका अनुसार यो वर्ष २० हजार ८ सय मूल्य बराबरको सिमी बेचेकी हुन् । गत वर्ष मात्रै उनले ६० हजार मूल्य बराबरको सिमी बेचिन् ।
‘पहिले बोकेर सदरमुकाम ल्याएपछि मात्रै सिमी बिक्री हुन्थ्यो,’ सुनकलीले भनिन्, ‘अहिले गाउँमै व्यापारी पुग्ने गरेका छन् । किसानले मूल्य गर्छन् । व्यापारीले गाउँमा उत्पादित सिमी संकलन गरेर सहर सम्म पुर्याइरहेका छन् ।’
जुम्लाको सिमी सुर्खेत, नेपालगन्ज, पोखरा, चितवन र काठमाडौं लगायतका सहरसम्म पुग्ने गरेको छ । ‘सदरमुकाममा गएर सिमी बेच्नुपर्ने बाध्यता हट्यो,’ तिला गाउँपालिका–९ का मानबहादुर बुढाले थपे, ‘घरदैलोमै व्यापारीलाई सिमी बेचेर मनग्गे आम्दानी भइरहेको छ । जसले गाउँको समग्र जीवनस्तरमा परिवर्तन ल्याइरहेको छ ।’
स्थानीय नुनकली बोहोराले ४६ हजार रुपैयाँको सिमी बेचिन् । उनले छोराछोरीको पठनपाठनदेखि घरखर्च समेत सिमी बेचेर कमाएको रुपैयाँले चलिरहेको सुनाइन् । उनले भनिन्, ‘पहिले सिमी व्यापारी नपुग्दा थन्किन्थे । बीचमा सिमीसँग चामल साँटेर किसानले लैजान्थे तर अहिले गाउँमै व्यापारी पुगेपछि नगदमा कारोबार भइरहेको छ । यो किसानका लागि निकै खुसीको अवस्था हो ।’
गाउँमै व्यापारी आउन थालेपछि अहिले किसानले व्यवसायिक सिमी खेती गर्न थालेका छन् । कृषि विकास कार्यालयले पनि बढी सिमी उत्पादन हुने स्थानलाई लक्षित गर्दै सिमी पकेट क्षेत्रका रुपमा काम गरिरहेको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लाको २ हजार २ सय ५० हेक्टरमा सिमी खेती भइरहेको छ । ४ हजार २ सय ६० मेट्रिकटन सिमी उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिका, ७ गाउँपालिका र ६० वटै वडामा सिमी खेती हुने गरेको छ । जुम्लाका किसानले सिमी वैशाखमा रोपेर कात्तिक महिनामा भित्र्याउँछन् ।
