उपल्लो डोल्पाका प्रहरी चौकी सदरमुकाम झारिए

हिमपातपछि अत्यधिक चिसो बढेपछि चौकीहरुलाई सदरमुकाम गाभिएको हो ।

मंसिर २, २०८२

रामचन्द्र न्यौपाने

Upper Dolpa police station moved to district headquarters

डोल्पा — उपल्लो डोल्पास्थित नेपाल-चीन सिमावर्ती क्षेत्र आसपासका स्थानीय तहमा रहेका प्रहरी चौकीहरु सदरमुकाम दुनै गाभिएका छन् । हिमपातपछि अत्याधिक चिसो बढेपछि चौकीहरुलाई सदरमुकाम झारिएको हो ।

उपल्लो डोल्पाको शे–फोक्सुण्डो, छार्काताङ्सोङ र डोल्पाबुद्ध गाउँपालिकामा रहेका सातवटा अस्थायी प्रहरी चौकी सदरमुकाम झारिएको डीएसपी रुकबहादुर खड्काले जानकारी दिए । ‘उपल्लो डोल्पामा राखिएका धेरैजसो चौकीहरु अस्थायी छन्, त्यही भएर पनि बसाइ सुविधा राम्रो छैन, स्थायी रुपमै बसाइका लागि उपयुक्त भवन भए बाह्रै महिना प्रहरी बस्थ्यो,’ डीएसपी खड्काले भने । अहिलेकै अस्थायी संरचनामा प्रहरी राख्दा चिसोले ज्यानै जाने जोखिम हुने उनले बताए ।

उपल्लो डोल्पामा पर्ने धो, निजाल, तिन्जे, फोक्सुन्डो लगायतका स्थानमा राखिएका चौकीहरु झारिएका हुन् । साल्दाङ्ग, कागकोट र ल्यासीक्याप सहितका तीनवटा चौकी भने बाह्रै महिना स्थायी रुपमा उपल्लो डोल्पामै बस्दै आएका छन् ।

गत वर्षको चैत्र अन्तिमतिर पठाइएका चौकी करिब सात महिनापछि झारिएपछि उपल्लो डोल्पामा सुरक्षा चुनौती बढेको स्थानीयले बताएका छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully