विकास निर्माणका काममा स्थानीयकाे सहभागिता बढाउन पालिकाले सबै वडामा ‘कपुरकोट जागरण’ नाम दिएर श्रम अभियान लागु गरेको हो ।
What you should know
सल्यान — कपुरकोट गाउँपालिकाले विकास निर्माणका काममा स्थानीयकाे सहभागिता बढाउन श्रम अभियान संचालन गरेको छ ।
विकास निर्माणका कामलाई सहयोग पुर्याउने उद्देश्यले पालिकाले सबै वडामा ‘कपुरकोट जागरण’ नाम दिएर श्रम अभियान लागु गरेको हो ।
अभियान सुरु गरेको पहिलो दिन साेमबार सहभागिता जनाएका जनप्रतिनिधि, स्थानीय तथा कर्मचारीले वडा १ सारपानी गर्पास्थित आधारभूत स्वास्थ्य इकाई केन्द्र जाने बाटोमा स्ल्याब निर्माण गरेका छन् ।
थोरै रकम र स्थानीयको श्रमले विकास निर्माणका कामलाई सघाउन श्रम अभियान संचालन गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । अभियान अन्तर्गत निर्माण सामग्री किन्न प्रत्येक वडामा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । उनका अनुसार स्थानीय, जनप्रतिनिधि, कर्मचारीले निशुल्क श्रम गर्नेछन् ।
अभियानको पहिलो दिन गर्पास्थित आधारभूत स्वास्थ्य इकाई केन्द्र जाने बाटोमा पाँच मिटर चौडाई र २५ मिटर लम्बाईको स्ल्याब निर्माण गरिएको छ । श्रम अभियानका संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले श्रमदानमा स्थानीयको सहभागिता र चासो बढाउन अभियान संचालन गरिएको बताए । अभियान अन्तर्गत वडाले सिफारिस गरेका योजनाका काम गर्ने उनले जानकारी दिए ।
उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार अभियान अन्तर्गत वडा २ को कार्यालय तथा स्वास्थ्य चौकी, खहरे, धनठाना जाने सडक, वडा ३ मा मूलपानी तरकारी संकलन केन्द्रको टहरो, कालिका मन्दिरमा प्रतिक्षालय, ४ मा घङ्गारीचौरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न सिढी निर्माण, ५ मा लेकसल्लाम–पैयाकाँडा–बगाले मोटरबाटो, ओखरपाटा सडक स्ल्याब निर्माण, जामुने तरकारी संकलन केन्द्र, ६ मा सातामुल बराह क्षेत्र धार्मिक पर्यटकीयस्थलमा चमेना गृह, तारजाली निर्माण गरिने छ ।
