पाँच वर्षमा बन्यो त्रिवेणी गाउँपालिकाको भवन

तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ठेकेदारकाे ढिलासुस्तीले सम्पन्न हुन सकेको थिएन ।

मंसिर १, २०८२

विप्लव महर्जन

Triveni Rural Municipality building constructed in five years

सल्यान — त्रिवेणी गाउँपालिकाको प्रशासकीय काम सुरु भएको पाँच वर्षमा भवन निर्माण सम्पन्न भएको छ ।

तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ठेकेदारकाे ढिलासुस्तीले सम्पन्न हुन सकेको थिएन । पालिकाले बारम्बार ताकेता गरेपछि भवनको काम बल्ल सम्पन्न भएको हो । 

त्रिवेणी गाउँपालिकाले भवन निर्माणका ३० महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेर २०७७ असार ३० मा प्राकृतिक/हमाल जेभी कम्पनीसित ५ करोड ३४ लाख रुपैयाँमा सम्झौता गरेको थियो । 

पेटी ठेकेदार लक्ष्मण हमालले कोरोना संक्रमण, निर्माण सामग्री अभावलगायतका समस्या देखाएर दुई वर्ष काम अलपत्र पारेको थियो । मुख्य ठेकेदार टोपबहादुर रायमाझी र लक्ष्मण हमाललाई बोलाएर दबाब गर्दा बल्ल काम सम्पन्न भएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । यसअघि पालिकाले मासिक १ लाख रुपैयाँमा तीन वटा घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको थियो ।  

नवनिर्मित भवन सोमबारदेखि कार्यालय कार्यालय संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । आफ्नै भवन भएपछि सेवाग्राहीले विभिन्न फाँट खोज्दै हिँड्न पर्ने अवस्था हट्ने उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully