दसैं मान्न चामल सापटी गरेकी रूपधनीलाई सहयोग

दैनिक गुजाराका लागि मजदुरी गर्नुपर्ने आर्थिक हिसाबले विपन्न रूपधनीबारे ईकान्तिपुरकाे 'घरखर्च' स्तम्भमा सामग्री प्रकाशन भएको थियो ।

मंसिर १, २०८२

रामचन्द्र न्यौपाने

Help for Roopdhani who borrowed rice to celebrate Dashain

डोल्पा — डोल्पाकी रूपधनी सार्कीलाई भिजी फाउन्डेसनले ५० हजार बराबरकाे सहयोग गरेकाे छ । ईकान्तिपुरकाे 'घरखर्च' स्तम्भमा रूपधनीको अवस्था समेटिएको सामग्री गत कात्तिक ८ गते प्रकाशन भएको थियो ।

उनको आर्थिक अवस्था दयनीय रहेको बुझेपछि सोही सामग्रीका आधारमा खाद्यान्न, लत्ताकपडा, स्टेसनरी लगायतका सामग्री सहयोग गरिएको फाउन्डेसनको भनाइ छ ।

सात जना सदस्य भएको रूपधनीकाे परिवार आर्थिक हिसाबले विपन्न छ । दैनिक गुजारा गर्न मजदुरी गर्नुपर्ने बाध्यता छ । उनले एक जना भतिजीबाट एक बोरा चामल ल्याएर दसैं मनाएको बताएकी थिइन् ।

प्राप्त सहयोग बुझ्दै रूपधनीले आफ्नो परिवारकाे बिलाैना देखेर सहयाेग गरेकामा फाउन्डेसनलाई धन्यवाद दिएकी छन् ।

उनीजस्ता धेरै दलित समुदायको खेतीपातीका लागि आफ्नै जमिन छैन । खनीखोस्री गर्न जग्गा नभएपछि उनीहरु परम्परादेखि मजदुरीमै निर्भर छन् । 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully