सुन्तला बचेर आर्थिकस्तर उकास्न सफल भएका किसानहरु केही वर्षयता विभिन्न रोग देखिन थालेपछि चिन्तित छन् ।
What you should know
सल्यान — बाग्चौर नगरपालिका–९ कोटमौलाका लोकबहादुर डाँगीको ४० रोपनी जग्गामा १ हजार भन्दा बढी सुन्तलाका रुख छन् । वार्षिक २० देखि २८ लाखसम्मका सुन्तला बिक्रि गर्दै आएका उनी यो वर्ष तनावमा छन् ।
गत असारदेखि उनको बारीका धेरैजसो सुन्तलाका पात पहेँलो भएर झर्ने, हाँगा सुक्दै जाने र फल झर्ने समस्या देखिएको छ ।
जय बागेश्वरी फर्म दर्ता गरेर व्यावसायिक सुन्तला खेती गरेकी सोही गाउँकी पार्वती ओलीको बारीमा पनि उस्तै समस्या देखिएको छ । उनको बगैंचामा फल लागेका रुखका पात र दाना झर्ने समस्या बढ्दै गएको छ । समस्या रोकथामका लागि धेरै प्रयास गरे पनि जोगाउन नसकेको उनले सुनाइन् ।
बाग्चौर नगरपालिका–८ र ९ कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्र हो । दुई वडाका ७ सय भन्दा बढी किसानले ३ सय ८० हेक्टरमा सुन्तला लगाएर वार्षिक २५ देखि ३० करोड रुपैयाँको कारोबार गर्दै आएका छन् । सुन्तला बचेरै आर्थिकस्तर उकास्न सफल भएका किसानहरु केही वर्षयता विभिन्न रोग देखिन थालेपछि चिन्तित छन् । रोग नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आए पनि समाधान हुन नसकेको उनीहरु बताउँछन् ।
५/६ वर्षदेखि देखिएको ग्रिनिङ र पिंक रोगको समाधान हुन नपाउँदै कोत्रे, फेद कुहिने, फेद तथा हागामा स्याली लागेजस्तो देखिएपछि आयस्रोत गुम्ने डरले चिन्तित किसानहरुले रोग नियन्त्रणका लागि पालिका र कृषि विकास कार्यालयसित आग्रह गरेका थिए ।
वार्षिक ३५ लाखसम्मको सुन्तला बिक्रि गर्दै आएका कोटमौला डाँगीगाउँका भरतनाथ योगीले लगातार विभिन्न रोगले आफ्नो बगैंचाका एक हजार बोट सुन्तला मध्य आधामा क्षति भइरहेको बताए । ‘पहिला ग्रिनिङ रोगले तल्लो भेगमा भएको सुन्तला सखाप पार्यो । त्यसपछि पिंक र ध्वाँसे रोगको समस्या आयो । विभिन्न किसिमको उपचार गरेर केही हदसम्म नियन्त्रण भएको थियो । अहिले फेद कुहिने र पात, मुना र हाँगामा घाउ देखिने कोत्रे रोग लागेको छ,’ उनले भने ‘रोग फैलिने क्रम बढिरहेकाले बगैंचा नै मासिने खतरा छ ।’
राजनीतिसँगै सुन्तला खेतीलाई निरन्तरता दिएका लोकबहादुर डाँगीले गतवर्ष कृषि विकास कार्यालयले संचालन गरेको कृषि पाठशालामा सुन्तलामा रोग निदानको उपाय अपनाउँदा झन् समस्या देखिएको बताए । गतवर्ष कृषि पाठशाला अन्तर्गत आफ्नो एक सय भन्दा बढी बोटमा उपचार प्रक्रिया बढाएकोमा सबै बोट सखाप भएको उनले जानकारी दिए । ‘आफ्नै हिसाबले खेती गरेका सुन्तला सबै ठिक छन् गतवर्ष कृषि पाठशाला अन्तर्गत प्रांगारिक मल प्रयोग गर्दा सबै सुन्तला सखाप भएका छन्,’ उनले भने ।
बाग्चौर नगरपालिकाका कृषि शाखा प्रमुख घनश्याम केसीले सुन्तलामा बढीजसो ग्रिनिङ, फेद कुहिने र कोत्रे रोगले जिल्लामा २० प्रतिशत सुन्तलाका बोट सखाप भएको बताए । रोग नियन्त्रणका लागि पालिकाले गर्न सक्ने सबै प्रयास गरेर थप परीक्षणका लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा पठाएको उनले बताए ।
जिल्लाभर १ हजार ६ हेक्टरमा सुन्तला लगाइएको छ । कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले कोटमौलामा बगैंचामा प्राविधिक टोलीले बारीमै पुगेर जाँच गर्दा धेरै किसिमका रोग देखिएको र पहिचानका लागि अनुसन्धान भइरहेको बताए ।
बाग्चौर नगरपालिका–८ र ९ मध्ये वडा ८ मा बढी क्षति देखिएको उनले बताए । उनका अनुसार रोगले यो वर्ष सुन्तला उत्पादनमा ह्रास आउने देखिन्छ । कोटमौलाबाहेक अन्य केही स्थानमा पनि यस्तै खालको समस्या देखिएको उनले बताए ।
