कर्णालीमा सडक र पुलका १२ ठेक्का तोडिँदै

ठेक्का तोड्न सूचना जारी गरेपछि अरू कम्पनी सम्पर्कमा आए पनि शंकरमाली अझै नआएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए ।

कार्तिक ३०, २०८२

कृष्णप्रसाद गौतम

12 road and bridge contracts being terminated in Karnali

What you should know

सुर्खेत — कर्णाली राजमार्गस्थित दहीखोलादेखि खुलालुसम्मको झण्डै साढे चार किलोमिटर सडक मर्मतका लागि हिंमाशु निर्माण सेवाले आर्थिक वर्ष २०७९/८० मा ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गर्‍यो । उसले एक वर्षभित्रै निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो ।

कम्पनीले समयमै काम नगरेपछि सडक डिभिजन कार्यालयले पटक-पटक ताकेता गर्‍यो । तर समय घर्केपछि केही प्रतिशत काम गरेको कम्पनीले भुक्तानी नपाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । जसका कारण सडक लामो समयदेखि अलपत्र परेको छ । 

कर्णाली राजमार्गअन्तर्गतकै भुलभुले-पिना खण्डको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७७/७८ मा शंकरमाली निर्माण सेवाले झण्डै एक करोड रुपैयाँमा ठेक्का लिएको थियो । उसले न काम समयमै सम्पन्न गरेको छ न सडक डिभिजन कार्यालयको सम्पर्कमा छ । 

सुर्खेत र जुम्लास्थित सडक डिभिजन कार्यालयहरूले रुग्ण अवस्थाका १२ वटा ठेक्का तोड्न थालेका हुन् । जसका लागि १५ दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सुर्खेतले ७ र जुम्ला कार्यालयले ५ वटा सडक तथा पुलका ठेक्का सम्झौता रद्द गर्न थालेको हो ।

२०७५/७६ देखि कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको काम अलपत्र पार्ने मान शाही निर्माण सेवा, २०७७/७८ को दहीखोला—सेरीघाट खण्डको काम नगर्ने एमके/अमित जेभी र बलीघाट खण्ड अलपत्र पारेको कृष्ण निर्माण सेवासँगको सम्झौता रद्द गर्न आवश्यक प्रक्रिया थालेको हो । ठेक्का तोड्न सूचना जारी गरेपछि अरू कम्पनी सम्पर्कमा आए पनि शंकरमाली अझै नआएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए । ‘अहिले निर्माण कम्पनीले पेश गरेको स्पष्टीकरणको अध्ययन गरिरहेका छौ,’ उनले भने, ‘चित्तबुझ्दो कारण नभए कम्पनीमाथि आवश्यक कारवाही गरिनेछ ।’

सडक डिभिजन सुर्खेतले पनि चारवटा पुल र तीनवटा सडकको ठेक्का सम्झौता अन्त्य गर्न लागेको छ । जयबुद्ध/नेपाल मेगा जेभीले २०७३/७४ मा ठेक्का लिएको गुमी–पातीहाल्ने सडकअन्तर्गतको भालुकुनेखोला पुल, टीडीआर कन्स्ट्रक्सनले ठेक्का लिएको कर्णाली राजमार्गको खुर्राखोला पुल र काष्ठमण्डप कन्स्ट्रक्सनले २०७३/७४ मा सम्झौता गरेको सुर्खेतको साटाखानीस्थित झुप्राखोला पुलको ठेक्का तोड्न थालिएको हो ।

आर्थिक वर्ष २०७३/७४ देखि पुल र सडकमा काम नगरी ठेकेदार कम्पनीले अलपत्र पारेको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर रुपेश केसीले बताए । उनका अनुसार कन्काई/गणपति जेभीले २०७८/७९ मा सम्झौता गरेको सुर्खेतको छिन्चु-घारीवन-काल्चे सडक, नान्जिला एन्ड आकांक्षा/मजदुर जेभीले २०७८/७९ मा काम थालेको सुर्खेत–रानीमत्ता खण्ड र रक्षलक्ष्मी कन्स्ट्रक्सनले २०८१/८२ मा ठेक्का लिएको गादापानी-बलिसेरा सडकको स्तरोन्नतिको ठेक्का पनि रद्द गर्न लागिएको हो । ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने, धरौटी जफत गर्ने र कालोसूचीमा राख्नेलगायत कारवाही हुने उनको भनाइ छ ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully