त्रिपुराकोट–मौरे सडक स्तरोन्नति गर्न छब्बीस करोड बजेट

त्रिपुराकोट–मौरे सडक स्तरोन्नतीले जुम्ला र डोल्पालाई रारा तथा फोक्सुन्डो तालसँग जोड्ने योजना अघि बढेको छ।

कार्तिक २९, २०८२

रामचन्द्र न्यौपाने

260 million budget for upgrading Tripurakot-Maure road

What you should know

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ अन्तर्गत पर्ने त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नति हुने भएको छ। कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नति हुने भएको हो।

सडक स्तरोन्नति कार्यको शिलान्यास शनिबार बिहान भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले गरे।

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बुढाले यो सडक स्तरोन्नति पछि जुम्ला र डोल्पाका स्थानीय सहज सडक सम्पर्कमा जोडिनुका साथै रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताए।

कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयहरूले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जन समेत गर्न सक्ने बताए।

यसैगरी चुँ–गार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि चार करोड बजेट छुट्याइएको, अझै बजेट थप गर्ने प्रयास भइरहेको समेत मन्त्री बुढाले बताए।

बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखन्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको रारा ताल जोड्ने गर्दछ।

दुई वर्षभित्र स्तरोन्नति कार्य सक्नुपर्ने यसको सडकको सम्झौता भने गत असारमा भएको थियो।

बीएनटी कुटुम्ब जेभीले निर्माणको जिम्मा लिएको त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर रहेको छ।

उक्त सडकको ट्र्याक खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट पवित्र धार्मिक क्षेत्र बुढाल मष्ट मन्दिर–छलसम्म नाला सहितको ग्राभेल सडक निर्माण गरिने भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए।

यससँगै बलाङ्ग्रा लेक, कुच्चीभीर लगायतका साँघुरा सडक भएको क्षेत्रमा चौडा बनाउनुका साथै स्तरोन्नतिको काम गरिने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रोकाय र त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायले सडकका लागि बजेट विनियोजन गरिदिएको भन्दै मन्त्री बुढालाई धन्यवाद समेत दिएका थिए।

प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयन गर्न स्थानीय सरकारको महत्त्वपूर्ण हात हुने बताउँदै कुनै पनि बहाना नगरी काम नरोक्न निर्माण व्यवसायीलाई सुझाव समेत दिएका थिए।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully