फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा

नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर सञ्चालनमा आएसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

कार्तिक २८, २०८२

रामचन्द्र न्यौपाने

Half a dozen settlements, including Phoksundo Trail and Yarsa Patan, now have access to communications

डोल्पा — डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर सञ्चालनमा आएसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

बिहीबार मात्रै टावर सञ्चालनमा आएको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए । उनका अनुसार टावर सञ्चालनमा आएसँगै दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्का लगायतका बस्तीहरूमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ ।

रह र परिला गाउँमा मात्रै करिब पाँच सय घरधुरीमा सञ्चारको पहुँच पुगेको स्थानीय समाजसेवी नरेन्द्र महतले जानकारी दिए । ‘रह गाउँमा टावरले राम्रो काम गरेको छ । परिलामा सानै फोनले मात्रै घरभित्र काम गर्छ । फोरजी इन्टरनेट पनि चलेको छैन । आसा छ, सुधार होला,’ महतले भने ।

टावर बनेसँगै सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको बताइएको छ । फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्कामा पनि फोरजी टावरले काम गरेको पर्यटन व्यवसायी नोर्बु लामाले जानकारी दिए ।

‘भित्र सानो फोनमा मात्रै आउँछ । घरबाहिर भने फोन, इन्टरनेट दुवैले राम्रो काम गरेको छ,’ गुरुङले भने । ‘यो हाम्रो लागि खुसीको कुरा हो । अब एउटा टावर छेप्का र रेँची बीचमा राख्न पहल भइरहेको छ,’ उनले थपे ।

रह लेकमा राखिएको टावर सञ्चालनमा आएसँगै फोक्सुन्डो ट्रेलको आधा भू–भाग सञ्चारको पहुँचमा जोडिनुका साथै फोक्सुन्डो ताल घुम्न आउने पर्यटक र स्थानीयका लागि पनि सहज भएको लामाको भनाइ छ ।

त्यति मात्र नभई टावर सञ्चालन पछि भोक्पा, सागबारीलगायतका यार्सागुम्बा पाटनमा पनि सञ्चार सुविधा विस्तार भएको रहका स्थानीयले बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully