एक वर्षदेखि बिरामी आमाको कुरुवा बसिरहेछन् ११ वर्षीय बालक

घरमा तेस्रो व्यक्ति नभएको र एक्लै बस्दा खाने, बस्ने र पढ्ने समस्या हुने हुँदा छोरालाई पनि अस्पतालमा सँगै राखेको आमा दर्शनाले बताइन् ।

कार्तिक २७, २०८२

डीबी बुढा

An 11-year-old boy has been caring for his sick mother for a year.

What you should know

जुम्ला — चन्दननाथ नगरपालिका–९ तलिउमका ११ वर्षीय विकास दमाइ एक वर्षदेखि स्कुल जान छाडेर बिरामी आमाको कुरुवा बसेका छन् । उनीसँगैका साथीहरू झोला बोकेर स्कुल जाँदै गर्दा उनी भने अस्पतालमा आमाको स्याहारमा व्यस्त हुनु परेको हो ।

विकासकी आमा ४० वर्षीया दर्शना एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको उपचार गराइरहेकी छिन् । 

घरको भर्‍याङबाट खस्दा दर्शनाको मेरुदण्ड भाँचिएको थियो । बिरामी आमाको रेखदेख र हेरचाहका लागि उनी अस्पतालमै बस्छन् । बिरामी आमा कुर्नुपरेपछि विकासले पढाइसमेत छाड्नुपरेको बाध्यता सुनाए । ‘आमाको सास रहुन्जेलसम्म अस्पतालमै बास होला जस्तो भइसक्यो,’ उनले भने, ‘आमाको सिरानीमा बसेर निको भएर घर फर्किने दिने गनेर बसेको छु ।’ 

विकासका बुवाको निधन भइसकेको छ । जसले गर्दा पनि अस्पतालमा बस्नैपर्ने बाध्यता उनीमाथि छ । ‘बुबा बित्नु भयो । आमाको मेरुदण्ड भाँचिएको छ । घरमा भात पकाएर दिने मान्छे समेत छैन,’ विकासले भने, ‘साथीहरू झोला बोकेर स्कुल गइरहेको देख्दा मनमा पीडा हुन्छ । तर, आमालाई छोडेर जान मनै मान्दैन ।’

दर्शना बिरामी नपर्दासम्म विकास गाउँको जातिभीडस्थित सरकारी विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । जब आमा बिरामी परेर थला परिन् अनि उनका पनि दुःखका दिन सुरु भए । ‘आमा अस्पतालमा हुनुहुन्छ । यस्तो देख्दा देख्दै छोडेर स्कुलमा गए पनि पढ्न मन लाग्दैन,’ विकासले थपे, ‘त्यही भएर आमासँगै अस्पतालमै बस्ने निर्णय गरेको हुँ ।’

घरमा तेस्रो व्यक्ति नभएको र एक्लै बस्दा खाने, बस्ने र पढ्ने समस्या हुने हुँदा छोरालाई पनि अस्पतालमा सँगै राखेको दर्शनाले बताइन् । उनलाई अस्पतालले नै खाना दिने गरेको छ । ‘मेरै चिन्ताले श्रीमान् बित्नु भयो,’ उनले भनिन्, ‘अब छोरालाई कतिन्जेल अस्पतालमा राख्ने ? कसैलाई भनसुन गरेर भए पनि छोरालाई पढ्न लगाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।’

दर्शनाको शरीरको तल्लो भाग चल्दैन । आफैं खाना बनाउन, खान र शौचालय जानसमेत नसक्ने अवस्था छ । पहिले श्रीमानले स्याहार गरिरहेका थिए । अहिले श्रीमानको मृत्यु भइसकेपछि साहराविहीनजस्तै बनेको उनले सुनाइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजन रोकायाले एक वर्षदेखि अस्पतालले नै दर्शनाको निःशुल्क उपचार गरिरहेको बताए ।

विकासलाई पनि स्कुल गएर पढ्न मन छ । तर सहारा छैन । ‘कसैले हेरविचार र पढाइमा सहयोग गरे राम्रो हुने थियो,’ दर्शनाले गुनासो पोखिन् । ‘म जिउँदो रहँदासम्म त छोराको अवस्था यसरी नै चल्ला,’ आँशु चुहाउँदै दर्शनाले भनिन्, ‘मेरो शरीर चल्दैन । अब उठ्न सक्दिनँ । तर मेरो ११ वर्षीय छोरा विकासको भविष्य के होला भनेर अहिलेदेखि नै पिरलो लागिरहन्छ ।’ ज्यालादारी गरेर गुजारा चलाउने उनको परिवार अहिले सास्तीमा छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully