२०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ ७९ पैसामा पुल निर्माणको सम्झौता भएको थियो ।
काठमाडौँ — दैलेखको महाबु गाउँपालिकाको तारागाढ खोलामा सम्झौताको ८ महिना अगाडि नै पुल निर्माणको काम सम्पन्न भएको छ ।
निर्माण कार्यको जिम्मा लिएको आरबी कन्स्ट्रक्सनले सम्झौता गरेको मितिभन्दा ८ महिना अघि नै काम सम्पन्न गरेको छ ।
पूर्वाधार विकास कार्यालय २०८१ वैशाख १७ गते आरबी कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ ७९ पैसामा पुल निर्माणको सम्झौता भएको थियो ।
पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रविण कार्कीले तोकेको समयभन्दा अघि काम सम्पन्न भएकाले स्थानीय खुसी भएको बताए । उनले उक्त स्थानमा पुल नहुँदा खोलाबाट आवतजावत गर्नु पर्ने बाध्यता रहेको बताए ।
ताराघाटमा पुल बनेसँगै पालिकाका सबै वडामा आवतजावतको सुविधा मिलेको वडा २ का अध्यक्ष प्रकाश थापाले बताए । दैलेखका विभिन्न स्थानमा सम्झौता अवधि अगावै काम सम्पन्न गर्दै आएको आरबी कन्स्ट्रक्सन कम्पनी भने विभिन्न क्षेत्रबाट पुरस्कृत हुँदै आएको छ ।
