थुनुवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि आफन्तले शव बुझे

उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए । उनका अनुसार मृत्यु भएको चार दिनअघिदेखि सरकारी वकिल कार्यालयमा मुद्दा गएर शुक्रबार उनको मुद्दामा पेसी थियो ।

कार्तिक २५, २०८२

तृप्ति शाही

Detainee's death case: Relatives accept body after postmortem report

What you should know

वीरेन्द्रनगर — सुर्खेतमा गत शुक्रबार मृत्यु भएका विरेन्द्रनगर नगरपालिका - ११ पिपिराका थुनुवा गंगे सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ ।

३६ वर्षीय उनको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको पोस्टमार्टममा संलग्न चिकित्सकले जनाएका छन् । 

मृतकको पोष्टमार्टमको लागि भेरि अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो । कान्तिपुरसँग कुरा गर्दै डाक्टर शाक्यले भने , ‘पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट आयो । मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ । मुटुको नली बल्क भएको देखियो । चोटपटक कतै देखिएन ।'

रगतको जाँचको लागि पठाइएको उनले बताए । यो रिपोर्ट आउँन बाँकी छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार पोष्टमार्टम रिपोर्ट पछि आफन्तले शव बुझेका छन् । सुनार शुक्रबार बिहान ५:५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । प्रदेश अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए । उनका अनुसार मृत्यु भएको चार दिनअघिदेखि सरकारी वकिल कार्यालयमा मुद्दा गएर शुक्रबार उनको मुद्दामा पेसी थियो ।

थुनुवाको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको प्रहरीले जनाएको छ । सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार मृतक अहिलेसम्मको लागूऔषध सेवनकर्ता हुन् । ‘प्रहरीले कारोबार गर्दा फेला पारेको थियो’, उनले भने , ‘उनीहरू ३ जना थिए । बस्ने सबै सँगै थियो । तीनचार दिनअघि अदालतमा पेश गरेको हो । अदालतले निर्णय गरेको भए कारागारमा हुनसक्थ्यो ।’

मृतकको अवस्था सामान्य भएको रुघा मात्र लागेको उनले बताए । उनले भने, ‘हिरासतमा साथीहरुसँग घुलमिलमै बस्थे । दायाँ–बायाँ सबैतिर सोध्यौं, सीसी टीभी फुटेज पनि छ । हाँसखेल गरेर सुतेको हो । बिहान उठ्दा सँगै सुतेको साथीले दाई उठ्नु भनेर बोलाउँदा उठेनन् र अर्को साथीले पनि उठाउन कोसिस गरे र त्यसपछि प्रहरीलाई बोलाइएको थियो । तुरुन्त गएर हेर्दा अचेत थिए । अस्पताल लैजाँदासम्म मृत्यु भइसकेको रहेछ ।’

राति केही घटना पो भयो कि भनेर सीसी टीभी फुटेज हेर्दा त्यसमा कुनै शंकास्पद गतिविधि नदेखिएको उनको भनाई छ । यता मृतकका आफन्तले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाहिर घट्नाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

आफन्तको विरोध पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा ४ जना सदस्य रहेको छानबीन समिति गठन गरिएको छ ।

समितिमा वडा नम्बर ११ का अध्यक्ष खिमलाल देवकोटा , मानव अधिकार सञ्जालबाट पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघकी सदस्य एवं कर्णाली प्रदेश सचिव मालती विक र मृतक परिवारका तर्फबाट गिता सुनारलाई सदस्य राखिएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully