प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको भेला आयोजना गर्ने भएको छ ।
वीरेन्द्रनगर — प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको भेला आयोजना गर्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मंगलबार र बुधबार प्रदेश राजधानी सु्र्खेतमा भेला आयोजना गरिएको हो । दुईदिने भेलामा नगरप्रमुख र उपप्रमुखसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ ।
भेलामा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई समेत बोलाइने कार्यालयले जनाएको छ । कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा मुख्यरूपमा ३ वटा विषयमा छलफल हुनेछ । पहिलो, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह, दोस्रो- कर्णाली प्रदेशले योजना छनोटसम्बन्धी हाल गरिएको अभ्यास र योजना छनोट कार्यविधि र तेस्रो- स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा बाडफाँडसम्बन्धी ।
सचिव विकका अनुसार संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयमा आधारमा अघि बढ्नुपर्ने भावनाअनुसार अन्तरक्रियाको आयोजना गरिएको हो । छलफल तथा अन्तर्क्रियाले दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपाय खोजिने उनले बताए ।
कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनोट तथा आयोजना बैंकको अवधारणा ल्याए चालु आवको बजेट कार्यान्वयन गरिररहेको छ। कार्यक्रममा उक्त अवधारणालाइ थप परिमार्जन गर्ने सन्दर्भमा समेत छलफल हुनेछ ।
