जुम्लामा ८३ मतदान स्थल छन् । दुई अस्थायीसहित १ सय ८ मतदान केन्द्र रहेका छन् ।
What you should know
जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ । फोटोसहितको मतदाता नामावली संकलन गर्नेदेखि मतदान स्थल र मतदान केन्द्र कायम गर्ने विषयमा छलफल सुरु गरेको हो ।
निर्वाचन कार्यालय जुम्लाका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने मतदान केन्द्र र मतदान स्थल सिफारिस समितिको बैठक दुईपटक बसेको छ । आगामी कात्तिक ३० गते तेस्रो बैठक बसेर मतदान स्थल र केन्द्रको विषयमा टुंगोमा पुगिने निमित्त कार्यालय प्रमुख नारायणी चौलागाईंले जानकारी दिइन् ।
उनका अनुसार गत असोज महिनाको १० गतेदेखि हालसम्म ३ सय ५२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यो निर्वाचनको मिति हिमाली जिल्लाका लागि प्रतिकूल मानिए पनि तयारी तीव्र भइरहेको छ । निमित्त कार्यालय प्रमुख चौलागाईंले चिसो मौसम र भौगोलिक कठिनाइ मुख्य चुनौती देखिएको बताइन् । उनले भनिन्, ‘निर्वाचन तालिका अनुसारका काम भइरहेका छन् । तर चिसो मौसमले साथ दिइरहेको छैन ।’
अहिले दसैं–तिहार सकिएदेखि रोजगारीको सिलसिलामा कालापहाड धाउने र व्यापारका सिलसिलामा तराईतिर झर्नेको संख्या बढेको छ । चन्दननाथ–७ का कालीबहादुर महतले फागुनमा निर्वाचन हिमाली जिल्लाका लागि अनुकूल नभएको बताए । ‘एक त यहाँ चैत महिनासम्म हिउँ पर्छ । अर्को रोजगारीका सिलसिलामा कालापहाड जानेहरूसमेत चैत महिनामा मात्रै फर्किने भएकाले अपेक्षा अनुसारको मत खस्ने सम्भावना कम देखिन्छ,’ उनले भने ।
जुम्लामा ८३ मतदान स्थल छन् । दुई अस्थायीसहित १ सय ८ मतदान केन्द्र रहेका छन् । कुल मतदाता संख्या ६९ हजार ४ सय ५६ रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।
