आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मुद्दा दायरसँगै आरोपीहरूविरुद्ध अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोख्रेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक स्तरउन्नति योजनामा गलत प्रक्रियाबाट बोलपत्र कम्पनी छनोट गरी राज्यको लाखौं रकम हिनामिना गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले उल्लिखित व्यक्तिसँगै दिव्या निर्माण सेवा प्रालिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/८९ मा वडा न. ५ मा पर्ने खदाङ्गदेखि ल्हासासम्मको मोटरबाटो स्तरोन्नति गर्न ८३ लाख ८२ हजार ९ सय ९८ रकम लागत स्वीकृत गरी आवेदन परेका फर्महरूमध्येबाट कम लागत बोलकबोल गरेको फर्मलाई काम नदिइ मिलेमतोमा दिव्या निर्माण सेवालाई जिम्मा दिइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मुद्दा दायरसँगै आरोपीहरूविरुद्ध अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ । आरोपीहरूबाट आयोगले अनियमितता भएको ५५ लाख ८९ हजार ६३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
