धारामा पानी आउन थालेपछि खोला धाउनुपर्ने बाध्यता हट्यो

सिँजाको मुख्य बजारदेखि दुर्गम भुलभुलीसम्म, धितालिही देखि जोडु, भाडगाउँ सम्मका स्थानीय सुरक्षित खानेपानीको पहुँचमा पुगेका छन्।

कार्तिक २२, २०८२

डीबी बुढा

As water started flowing into the tap, the need to go to the river was eliminated.

What you should know

जुम्ला — जुम्लाको सिँजा गाउँपालिकामा अधिकांश घरहरुका धारामा खानेपानी आउन थालेपछि स्थानीय उत्साहित भएका छन् । नदी, नाउला र खोलाबाट गाग्रीमा भरेर ल्याएको पानीले काम चलाउनुपर्ने सिँजाबासीले अहिले घरमै धारामा आउने पानी भर्न पाएका छन् । 

‘घर–घरमा धारा पुगिसकेका छन्,’ सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘अब धाराहरुको रेखदेख र संरक्षणको आवश्यकता छ । यो स्थानीयले आफैंले गर्नुपर्ने देखिन्छ ।’

सिँजाको तथ्यांक अनुसार एक हजार ६४ घरमा खानेपानी धारा पुगेको छ । ‘स्थानीयले खानेपानीको अभावले दशकौंदेखि कठिन जीवन बिताइरहेका थिए,’ अध्यक्ष, ‘धितालले भने, ‘अब खानेपानीकै लागि समस्या भोगिरहनु पर्दैन ।’

सिँजाको मुख्य बजारदेखि दुर्गम भुलभुली सम्म, धितालिही देखि जोडु, भाडगाउँ सम्मका स्थानीय सुरक्षित खानेपानीको पहुँचमा पुगेका छन् । विद्यालय, स्वास्थ्यचौकी र हरेक सार्वजनिक स्थानमा खानेपानीका धारा राखिएका छन् ।

जसले पानीको प्यास मेट्न मात्रै नभइ स्वास्थ तथा सरसफाइका काममासमेट टेवा पुर्‍याएको छ । सिँजाका डिग्रा, जाँच गाउँका २१४, विष्टबाडा ८५, नराकोट १५२, फुंग्रमा ११९, गडापानीमा ४९४, धितालिहीमा ६४, फार्सेबाडामा १३०, गोरामा १८८, रुघागाउँमा ५४, जोडुमा ११०, चुलेलगाउँमा ८८, धापामा २७ र भुलीमा २२ धारा बनेका छन् ।

सिँजाले खानेपानी तथा सरसफाइलाइ प्राथमिकतामा राखेर काम गरेको छ । खानेपानीको क्षेत्रमा सुस्वा परियोजनाले साथ दिएको थियो । सुस्वा परियोजनाका प्रमुख मञ्जु थापाले खानेपानीका क्षेत्रमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित मूल्यांकन कार्यक्रममा २८ स्थानीय तहमा सिँजा पहिलो स्थान ल्याउन सफल भएको प्रतिक्रिया दिए । सिँजाले खानेपानीको क्षेत्रमा कुल बजेटको २६ प्रतिशत बजेट लगानी गरेको छ । 

संघीय सरकारको अनुदान, फिनल्याण्ड सरकार र युरोपियन युनियनको सहकार्यमा सिँजाले खानेपानीका क्षेत्रमा काम गरेको थियो । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully