दार्मामा घरघर पुगेर स्क्रबटाइफस परीक्षण

दार्मा गाउँपालिकाको व्यवस्थापन र कर्णाली प्रदेश सरकारको प्राविधिक सहयोगमा घरघर गएर बिरामीको स्वास्थ्य परीक्षणका साथै उपचार गर्न थालिएको हो ।

कार्तिक २०, २०८२

विप्लव महर्जन

Door-to-door scrub typhus testing in Darma

सल्यान — दार्मा गाउँपालिकामा स्क्रबटाइफस नियन्त्रणमा नआएपछि बुधबारदेखि घरघर गएर स्वास्थ्य परीक्षण र उपचार गर्न थालिएको छ ।

गाउँपालिकाको व्यवस्थापन र कर्णाली प्रदेश सरकारको प्राविधिक सहयोगमा घरघर गएर बिरामीको स्वास्थ्य परीक्षणका साथै उपचार गर्न थालिएको हो ।

गत दुई साताको अबधिमा उच्च ज्वरो र स्क्रबटाइफससँग मिल्दोजुल्दो लक्षणले चार महिलाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भए पछि दुई वटा वडामा संचालन गरिएको स्वास्थ्य शिविरमा ५१ जनामा स्क्रबटाइफस संक्रमण पाइएको थियो । 

पालिका र प्रदेश सरकारको प्राविधिक टोलीले वडा ३ को बेरुखेत, फारुलाबाट शंकास्पदको स्वास्थ्य परीक्षण सुरु गरेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए । बुधबार पहिलो दिनमै ३१ जनाको स्वास्थ्य परीक्षण गर्दा थप ५ जनामा स्क्रबटाइफस देखिएको उनले जानकारी दिए । 

उनका अनुसार दुई समूहमा विभाजन गरिएको स्वास्थ्यकर्मीको टोली बिहीबार बिहानै बुढाकाफल, लिगाछाप, ओजबाङ्गलगायत स्थानमा खटिएको छ । ‘घरघरमै खटिएको स्वास्थ्यकर्मीको टोलीले विरामीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । स्क्रबटाइफस पोजेटिभ देखिएमा घरमै उपचार तथा सल्लाह दिँदै आएका छन्,’ उनले भने । 

गत आइतबार र सोमबार स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको सहकार्यमा वडा ३ र ५ मा संचालन गरेको शिविरमा ५१ जनामा स्क्रबटाइसफस संक्रमण पाइएको थियो ।

बुधबार वडा ३ को केही स्थानमा परीक्षण गर्दा पाँच जना बिरामी थपिएपछि दुई वडामाक्रै स्त्रबटाइफसका बिरामीको संख्या ५६ पुगेको छ । घरघरमै ज्वरो र रुघाखोकीका विरामी भएकाले परीक्षण गर्दै जाँदा बिरामीको संख्या अझै  थपिने देखिएको उनले बताए ।  

ज्वरो आएको भन्दै मेडिकलबाट सिटामोल किनेर खाने गरेको र स्क्रबटाइफस बारे धेरै जानकारी नभएका कारण उपचारमा ढिलाई हुँदा चार जनाले ज्यान गुमाए पनि थप मानवीय क्षति हुन नदिन घरघर गएर बिरामीको पहिचान गरी उपचार थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।

‘स्वास्थ्य चौकीमा बोलाएर परीक्षण गर्दा दुर्गम बस्तीका बिरामीले उपचार नपाउने देखियो । समयमै उपचार नपाउने अवस्था देखिएकाले घरघरमा गएर स्वास्थ्य परीक्षण र उपचार गर्न थालेका हौं ।’ यसले गर्दा प्रदेश सरकारले पठाएको स्वास्थ्यकर्मीको टोलीलाई अनुन्धान गर्न पनि सहज भएको उनले बताए । 

स्वास्थ्यकर्मीकाे टाेलीले स्क्रबटाइफसबाट बच्न विद्यालयमा समेत सचेतना कक्षा संचालन गरिहेको उनले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully