हजारौं दर्शनार्थीको भीडलाई छिचोल्दै स्थानीय साँखवासी मन्दिरतर्फबाट हातमा लठ्ठी लिएर बाजागाजासहित मेला पस्ने यहाँको एउटा रोचक परम्परा छ ।
रुकुम पश्चिम — रुकुम पश्चिमको डिग्रे मेला सधैंका वर्षझैं यसवर्ष पनि भव्यताका साथ आयोजना गरिएको छ । मुसीकोट नगरपालिका–५ स्थित थर्पूमा अवस्थित डिग्रे शाईकुमारी भगवतीको मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष पूजासहित अन्तिम दिन मन्दिर परिसरमा यसरी मेला लाग्ने गर्दछ ।
स्थानीय कला–संस्कृति अनि मौलिक परम्पराको अनुपम संगमका रुपमा यो मेलालाई लिन सकिन्छ ।
हजारौं दर्शनार्थीको भीडलाई छिचोल्दै स्थानीय साँखवासी मन्दिरतर्फबाट हातमा लठ्ठी लिएर बाजागाजासहित मेला पस्ने यहाँको एउटा रोचक परम्परा छ । यसलाई मेलाको मुख्य आकर्षणका रुपमा समेत लिइन्छ ।
मनोकामना पूरा हुने विश्वाससहित मन्दिर दर्शन गर्न र मेलाको रमझममा रमाउन यसवर्ष एक लाखभन्दा धेरै भक्तजन यहाँ पुगेको अनुमान गरिएको छ । नित्यपूजा र दर्शनका लागि वर्षका ३ सय ६५ दिन नै खुला रहने यो मन्दिरमा कात्तिक शुक्ल पक्षमा विशेष पूजाआजासहित भव्य जमघट हुने गर्दछ ।
यहाँ पुगेका भक्तजनले आफ्नो भाकल पूरा भएको विश्वाससहित बोकाको बली पनि दिन्छन् । मन्दिर दर्शन र मेला भर्न रुकुम पश्चिम र आसपासका साथै टाढा–टाढाबाट भक्तजनहरु यहाँ पुग्ने गर्दछन् ।
कोही सिँगारु भाकामा झुमिरहेका, कोही मयूर नाचमा रमिरहेका । कोही साथीसँगको भेटमा जमेका, अनि कोही चर्खे पिङको मच्चाईमा रमेका । के बालक, के युवा अनि के वृद्धवृद्धा सबैलाई मेलाको रमझमले छपक्कै छोपेको छ ।
अघिपछि आफ्नै कामधाममा व्यस्त रहनेहरु यसप्रकारका मेलापर्वमा रमाउन पाएर खुसी भएका छन् । यहाँको पूजाआजा र मेलालाई व्यवस्थित गर्न स्थानीयहरुले पनि आ–आफ्नो जिम्मेवारीसहित व्यवस्थापन र सहजीकरण गरेका छन् ।
हाम्रो आस्था र विश्वासलाई बलियो बनाउँदै आपसी सहिष्णुता र प्रेमलाई कायम राख्न यसप्रकारका मेलापर्वहरुको निकै ठूलो भूमिका हुने गर्दछ । यसकारण यसको संरक्षण र निरन्तरता जरुरी छ ।
