लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोज्दै जाँदा आलेलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
वीरेन्द्रनगर — सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले १५ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ घर भई वडा नम्बर ८ मा बिसाउने चौतारी क्याफे सञ्चालन गरी बस्ने २८ वर्षका हिमाल आले, वीरेन्द्रनगर नगरपालिका–४ मुलपानी बस्ने २६ वर्षका सरोज ढकाल र वीरेन्द्रनगर–१ बस्ने बर्ष ४७ वर्षिय प्रेम गुरुङ छन् ।
लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोज्दै जाँदा आलेलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
उनको शरीर तथा सञ्चालन गरेको क्याफेमा खानतलासी गर्दा होटलको शौचालयको भेन्टीलेसनमा लुकाई छिपाई राखेको ११ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
यही घट्नाको अनुसन्धान गर्दै जादा ढकाललाई साथबाट ०.३६ मिलिग्राम (लागुऔषध ब्राउनसुगर) बरामद भएको उनले बताए । यस्तै लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले गुरुङको साथबाट पनि ३ ग्राम १८० मिलिग्राम लागुऔषध बरामद गरेको हो ।
तिनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बुढथापाले बताए । प्रहरीले उनीहरुको साथबाट एक लाख ७१ हजार ३ सय ३० रुपैयाँ नगद, २ थान कैँची पनि फेला पारेको जनाएको छ ।
