कर्णाली सरकारमा मुख्यमन्त्रीसहित ८ जना मन्त्री छन् । उनीहरु बाहेक ३२ जना प्रदेशसभाका पदाधिकारी र सदस्यहरुले स्वकीय सचिवसहित सवारी चालक र कार्यालय सहयोगी राखेका छन् ।
सुर्खेत — कर्णाली प्रदेशसभाले सांसदका स्वकीय सचिवहरुको तलब रोकेको छ ।
संघीय सरकारको असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भन्दै असोज ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो । सोहीअनुसार स्वकीय सचिवहरुको असोज महिनाको तलब रोकिएको हो ।
स्वकीय सचिवहरुको तलब रोकिएपछि सांसदहरुले विभिन्न माध्ययमबाट दबाब दिइरहेको सचिवालयका एक अधिकृतले बताए । ‘बुधबार बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि सांसदहरुले तलब सुविधाको विषयमा कुरा उठाउनुभएको थियो,’ उनले भने, ‘यसबारे छिट्टै आवश्यक निर्णय गरी समस्या समाधान गरिनेछ ।’
प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार भदौ महिनाको तलब भने स्वकीय सचिवालयको खातामा पठाइसकिएको थियो । सांसदका स्वकीय सचिवहरुलाई नायब सुब्बास्तरको तलब दिने गरिएको उनले जानकारी दिए ।
कर्णाली सरकारमा मुख्यमन्त्रीसहित ८ जना मन्त्री छन् । उनीहरु बाहेकका ३२ जना प्रदेशसभाका पदाधिकारी र सदस्यहरुले स्वकीय सचिवसहित सवारी चालक र कार्यालय सहयोगी राखेका छन् । सचिवालयका अनुसार ती कर्मचारीको संख्या ४८ जना छ भने उनीहरुको तलबमा झन्डै १५ लाख रुपैयाँ खर्च हुने गरेको छ ।
संघीय सरकारको निर्णयअनुसार मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि स्वकीय सचिवहरुको तलब रोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनका अनुसार स्वकीय सचिव सुविधा खारेज गर्नेबारे नीतिगत निर्णय भएको छैन । अहिले कर्णाली प्रदेशसभाको बैठक सञ्चालनमा छैन ।
गत भदौ २४ गते जेन-जीले नेतृत्व गरेको आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयमा आगजनी र तोडफोड भएको थियो । आगजनीका कारण प्रदेशसभाका केही भवनसहित सबैजसो कागजात, फर्निचर, कम्प्युटर, विद्युतीय उपकरणलगायत सामग्रीहरु नष्ट भएका छन् । जसका कारण अहिले नियमित र प्रशासनिक काममा मात्र सीमित भएको छ । दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो ।
