कर्णाली प्रदेशसभा पुनर्निर्माणको तयारी

सभामुख नन्दा गुरूङको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको नियमित बजेटबाट पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।

कार्तिक १४, २०८२

तृप्ति शाही

Preparations for reconstruction of Karnali Provincial Assembly

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभा पुनर्निर्माणको तयारी गरिएको छ । गत भदौ २३/२४ गते भएको जेन- जीको आदोलनको क्रममा आगलागीबाट ध्वस्त पारिएको प्रदेशसभा पुनर्निर्माण गर्ने निर्णय गरिएको छ । 

प्रदेशसभा पुनर्निर्माणका लागि कार्यव्यवस्था तथा परामर्श समिति बैठक बसेको छ । सभामुख नन्दा गुरूङको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको नियमित बजेटबाट पुनर्निर्माण गर्ने निर्णय गरेको हो । सभामा आगलागीपछि पहिलो पटक बसेको यो बैठकले सुरूवातमा सचिवालय र दलका पदाधिकारीहरूको कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।

कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा आगामी माघ २१ गते प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनुपूर्व नै नियमित बजेटबाटै पुनर्निर्माण सुरु गर्ने निर्णय भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

पहिलो चरणमा सचिवालय र प्रदेशसभामा सहभागी दलका पदाधिकारीको कार्यालय पुनर्निर्माण गर्ने सहमति भएको उनले बताए । यस्तै बैठकले काम गर्दै जाँदा बजेट अपुग भए प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको उनले बताए ।

दलहरूका शीर्ष नेताहरूको उपस्थितिमा सर्वदलीय बैठक पनि बस्ने निर्णय पनि भएको छ । केही दिनभित्र सबै दलका शीर्ष नेताको उपस्थितिमा सर्वदलीय बैठक बसेर आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिनेछ ।

आन्दोलनकारीले गरेको आगजनीबाट प्रदेशसभा बैठकस्थल, सचिवालय, दलका कार्यालय, विभिन्न समितिका कार्यालय ध्वस्त भएका छन् । जेन-जी आन्दोलनको क्रममा कर्णालीमा सबैभन्दा बढी क्षति पनि प्रदेशसभामा भएको थियो । 

माघ २१ गते हुने हिउँदे अधिवेशन सञ्चालनका लागि विकल्पका रूपमा अन्यत्रभन्दा अहिलेकै प्रदेशसभा परिसरभित्रै अस्थायी रूपमा संरचना बनाउनुपर्ने सुझाव पनि बैठकमा सहभागी दलका प्रमुख सचेतक र सचेतकहरूले सुझाव दिए । अस्थायी बैठकस्थल बनाएर आगामी हिउँदे अधिवेशन सञ्चालन गर्न सुझाव आएको सचिव बुढाथोकीले बताए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully