चिसो बढेपछि हिमाली जिल्लाका प्रहरी चौकी सदरमुकाम सारिए

हिउँदमा हिमपात र चिसोले ज्यानकै जोखिम हुने भएकाले उच्च हिमाली क्षेत्रमा राखिएका चाैकीलाई सुरक्षित र पायक पर्ने प्रहरी कार्यालयमा सार्ने गरिएकाे छ ।

कार्तिक १४, २०८२

ज्योति कटुवाल

Police posts in Himalayan districts moved to district headquarters as cold weather worsens

सुर्खेत — हिमपातसँगै चिसो बढेपछि कर्णाली प्रदेशका तीन हिमाली जिल्लाका नौ वटा प्रहरी कार्यालय सदरमुकाम सारिएकाे छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी एसएसपी केदार खनालले हिमाली क्षेत्रमा चिसो र हिउँ पर्न सुरु भएपछि सदरमुकामा प्रहरी चौकी स्थानान्तरण सुरु भएकाे बताए ।

 

उनका अनुसार डोल्पाका सात, हुम्लाकाे एक र मुगुको एक वटा प्रहरी चौकी स्थानान्तरण सुरु भएकाे हाे ।  ‘हिमपात र चिसो बढेपछि हिमाली भेगमा रहेका प्रहरी चौकी पायक पर्ने स्थानमा सार्न सुरु गरेका छौं,' उनले भने, ‘हिमाल क्षेत्रका बस्तीमा यतिबेला मानिस पनि नबस्ने भएकाले सुरक्षाका लागि खटिएका प्रहरी सदरमुकाममा झिकाएका छौं ।’

 

हुम्लाकाे नाम्खा–६ का तिल, हल्जी र जाँङको सुरक्षाका खटिएको प्रहरी टाेली सिमकोट आइपुगेको छ । 'मानिसहरुको आवतजावत नभएपछि प्रहरी चौकीमा रासनपानीको व्यवस्था गर्नसमेत कठिन  हुन्छ । हिमाली क्षेत्रका चाैकी अब एकैपटक जेठतिर फर्किन्छन्,' प्रवक्ता खनालले भने ।

 

यस्तै उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकी पनि सदरमुकाम दुनैमा सार्न सुरु गरिएको छ  । माथिल्लो डोल्पाकाे शे–फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका क्षेत्रमा रहेका प्रहरीहरु सदरमुकाम झर्ने भएका हुन् । हिउँदमा हिमपात र चिसोले ज्यानकै जोखिम हुने भएकाले उच्च हिमाली क्षेत्रमा राखिएका  चाैकीलाई सुरक्षित र पायक पर्ने  प्रहरी कार्यालयमा सार्ने गरिएकाे छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully