उपल्लो डोल्पामा गुइँठा संकलन गर्न गएका तीन जना तीन दिनपछि सम्पर्कमा

डोल्पोबुद्ध गाउँपालिकामा गुइँठा संकलनका लागि गएका एकै परिवारका तीन सदस्य भारी हिमपातका कारण तीन दिनपछि मात्र सम्पर्कमा आएका छन्।

कार्तिक १३, २०८२

रामचन्द्र न्यौपाने

Three people who went to collect gintha in Upper Dolpa are in touch after three days

डोल्पा — डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिका–३ को छोइला लेकमा फसेका तीन जना तीन दिनपछि सम्पर्कमा आएका छन् ।

गत मंगलबार घोडा लिएर गुइँठा (गोबर) संकलन गर्न गएका तीन जना बिहीबारमात्र सम्पर्कमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार सम्पर्कमा आएका सबै ताक्सी गाउँका एकै परिवारका सदस्य हुन् । घोडा लिएर गुइँठा संकलनका लागि आमा, छोरा र बुहारी गएका थिए । उनीहरूलाई उद्धारका लागि बीचसम्म पालिकाको एक्स्काभेटर समेत पठाइएको थियो ।

'उनीहरू सबैसँग सातु लगायतका खानेकुरा लिएका रहेछन्,' थापाले भने, 'भारी हिमपात भएपछि उनीहरू त्यहीँ ओडारमा बसेर तीन दिनसम्म रोकिएका रहेछन् ।'

मंसिरदेखि उपल्लो डोल्पामा प्रायः हिमपात हुने भएकाले त्यस समयमा आगो ताप्न र खाना पकाउनका लागि दाउरा र गुइँठा संकलन गर्ने परम्परा रहेको छ ।

उपल्लो डोल्पामा तीन दिनदेखि लगातार हिमपात भइरहेको र जनजीवन कष्टकर बनेको जनाइएको छ । हिमपातले बनपाखा ढपक्कै ढाकिएपछि पशुपालनमा समेत समस्या भएको छ ।

डोल्पोबुद्ध गाउँपालिकामा दुई दिनदेखि टेलिफोन सेवाअवरुद्ध रहेको पेम्मा धार्के गुरुङले जानकारी दिए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully