सुनिलस्मृति गाउँपालिका -४ धुलेओडारमा पिकअप जिप दुर्घटना भएको हो ।
रोल्पा — पूर्वी रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ९: ५० बजे सुनिलस्मृति गाउँपालिका -४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा चालक थम्मन रोकाको मृत्यु भएको हो ।
लुंग्रीको किलाचौरबाट सुलिचौर पुग्न भित्री सडक खण्डमार्फत यात्रामा हिडेको उक्त जिप सडकबाट करिब ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिल कुमार चौधरीका अनुसार दुर्घटनामा जिपमा चालकसहित २ पुरुष, १ महिला र ५/६ वर्षकी १ बालिका गरी ४ जना सवार थिए । सबै घाइते भएका थिए । घाइतेहरुको उद्धारपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्याइएको थियो । चालकको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमा लुङ्ग्री गाउँपालिका- ७ हर्जङका ४० वर्षीय खिमबहादुर पुन, वडा नम्बर ४ सालडाडाँका २७ वर्षीया भावना गिरी र भावनाकी छोरी करिब ४/५ वर्षकी शान्ति छन्। उनीहरू सबैको उपचार बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको छ । दुर्घटनास्थल सुलिचौरबाट करिब ४ किलोमिटर उत्तरपूर्वी र सदरमुकाम लिबाङबाट करिब ३४ किलोमीटर पूर्व पर्छ ।
