शे-फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष गुरुङ भन्छन्- 'हिउँदे सभा सकिएको छैन । भुक्तानी सेवा दिन सकेको छैन । हामीलाई स्थानीय तह चलाउन गाह्रो भयो ।'
What you should know
काठमाडौँ — मौसममा बदली आएसँगै बुधबारदेखि नै उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ । पर्यटकका लागि हिमपातले थप रोमाञ्चकता दिए पनि स्थानीय बासिन्दाको दैनिकी भने कष्टकर बनेको छ ।
शे-फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङ हिउँ परेर जीवन कष्टकर हुनु सामान्य भए पनि हिमाली भेगको समस्या त्योभन्दा धेरै भएको बताउँछन् । उनमा अनुसार हिउँले अहिले माथिल्लो डोल्पामा आवातजावत ठप्प छ । पशुबस्तुको चरण क्षेत्रले हिउँले ढाकिएको छ । काठ/दाउराको समस्या थपिएको छ । त्यसमाथि स्थानीय सरकारले सेवा दिन पनि सकिरहेको छैन ।
'पानी पर्ने, चिसो हुने, हिउँ परेर बरफ जम्ने हिमाली क्षेत्रको विशेषता हो । यो नयाँनौलो केही होइन । समुद्र सतहदेखि ५/६ हजारसम्मका यहाँ बस्ती छन् । तीन/चार दिनदेखि निरन्तर पानी परेको छ । हिउँ परेको छ । यहाँ नेट चल्दैन । एउटा राम्रो किसिमको फाइबर नेट छैन । टुजी चलाएर बस्नु परेको छ,' गुरुङले भने, 'सानोतिनो कामकाज गर्न पनि सकिरहेका छैनौं । हिउँदे सभा सकिएको छैन । भुक्तानी सेवा दिन सकेको छैन । हामीलाई स्थानीय तह चलाउन गाह्रो भयो ।'
नयाँ बनेको सरकारले अब सहरकेन्द्रित विकासभन्दा विकटको समस्यामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।जहिले पनि विकास सहरकेन्द्रित भएकामा उनको चित्त दुखाइ छ । 'अहिले त नयाँ मन्त्री विस्तार भएको छ ।विकास सहरकेन्द्रित भन्दा पनि विकट/दुर्गम गाउँतिर ध्यान दिनुहोला भनेर अनुरोध गर्न चाहन्छु,' उनले भने ।
उपल्लो डोल्पासँग राष्ट्रिय सडक सञ्जालदेखि प्रसारण लाइनसमेत जोडिएको छैन । त्यसैले आफूहरु पहिल्यै सोलारको भरमा जीवन बिताइरहेको गुरुङले सुनाए । उपल्लो डोल्पाबाट सदरमुकाम पुग्न तीन दिन लाग्छ । शे फोक्सुन्डो गाउँपालिकामा १४ सय घरधुरी छन् ।
