निरन्तर वर्षा र हिमपातका कारण जिल्लाभित्रका मुख्य ट्रेकिङ रुट बन्द भएकाले यस समयमा यात्रा गर्नु जोखिमपूर्ण रहेको प्रशासनले जनाएको छ ।
डोल्पा — जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदयात्रा नगर्न सूचना प्रकाशित गरेको छ । जिल्लाभित्रका उच्च हिमाली क्षेत्रमा तीन दिनदेखि निरन्तर वर्षासँगै हिमपात भइरहेकाले यस समयमा पदयात्रामा ननिस्कन सूचना जारी गरेको हो ।
शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने फोक्सुण्डो ताल र उपल्लो डोल्पा क्षेत्रमा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिरहेकाले यात्रा रोक्न प्रशासनले आग्रह गरेको हो ।
निरन्तर वर्षा र हिमपातका कारण जिल्लाभित्रका मुख्य ट्रेकिङ रुट बन्द भएकाले यस समयमा यात्रा गर्नु जोखिमपूर्ण रहेको प्रशासनले जनाएको छ ।
मौसम सफा नभएसम्म पदयात्रा नगर्न र पदयात्रामा निस्किसकेका पर्यटकलाई यथास्थानमा सुरक्षित रूपमा बस्न पनि प्रशासनले आग्रह गरेको छ ।
फोक्सुण्डो ताल क्षेत्रमा बाग्लो हिउँ जमेर बाटो अवरुद्ध भएपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले हिउँ फालेर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले बताए ।
बाटोको हिउँ पन्छाएपछि तालमा अड्किएका पर्यटक फर्किएको पनि डीएसपी खड्काले जानकारी दिए ।
लगातारको हिमपातले फोक्सुण्डो ताल क्षेत्रमा बाग्लो हिउँ जम्नुका साथै अहिले पनि हिमपात भइरहेको वडाध्यक्ष निमा लामाले जानकारी दिए ।
