साउन १ गतेबाट अहिलेसम्म ३ सय ३३ विपद्का घटना भएका हुन् । ती घटनामा ६ जनाको मृत्यु भएको तथ्यांक प्रहरीको छ ।
What you should know
वीरेन्द्रनगर — कर्णाली प्रदेशमा तीन महिनायता मात्रै ३ सयभन्दा बढी विपद्का घटना भएका छन् । साउन १ गतेबाट अहिलेसम्म ३ सय ३३ विपद्का घटना भएका हुन् । ती घटनामा ६ जनाको मृत्यु भएको तथ्यांक प्रहरीको छ । २९ जना घाइते भए भने १ जना बेपत्ता छन् । विपद्बाट ३७० वटा भौतिक संरचनामा क्षति पुग्यो । ५९ वटा पशुचौपायाको मृत्यु भयो ।
सबैभन्दा बढी मानवीय क्षति सुर्खेतमा भयो । यहाँ ३ जनाको मृत्यु भयो भने ७ जना घाइते भए । २२ भौतिक संरचनामा क्षति पुग्यो ।
सबैभन्दा धेरै विपद्का घटना भने रुकुम पश्चिममा भए । ७९ वटा विपद् घटनामा २ जनाको मृत्यु र ४ जना घाइते भए । ७७ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
यस्तै जाजरकोट पनि बढी प्रभावित जिल्ला हो । ६९ विपद्का घटना भएकोमा ४ जना घाइते भए । १ जना बेपत्ता छन् । ०८१ भौतिक संरचनामा क्षति पुगेको छ । जाजरकोट र रूकुमपश्चिम भूकम्प प्रभावित जिल्ला पनि हुन् ।
सुर्खेतमा २७ वटा विपद्का घटना भएका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालका अनुसार दैलेखमा ३५ विपद् घटना भए । जसमा ५ जना घाइते भएका छन् । २७ संरचनामा क्षति पुग्यो ।
कालीकोटमा ४७ वटा घटनाबाट १ जना घाइते भए । ४६ संरचनामा क्षति पुगेको छ । सल्यानमा १४ वटा घटनाबाट २९ संरचनामा क्षति पुगेको छ । यस्तै जुम्लामा १८ वटा विपद् घटना भएकोमा १८ वटा संरचनामा क्षति पुगेको छ ।
मुगुमा १६ वटा घटना भए । जसमा १ जनालाई घाइते छन् । २० भौतिक संरचनामा क्षति पुगेको छ ।
डोल्पामा १३ वटा विपद् घटना भएका छन् । जसमा १ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । १० भौतिक संरचनामा क्षति पुगेको छ ।
हुम्लामा १५ विपद्का घटना ४० संरचनामा क्षति पुगेको प्रदेश प्रहरी प्रवक्ता केदार खनालले जानकारी दिए ।
