पूर्वी रुकुम हुँदै अवैध रुपमा डाेल्पा पुर्‍याइएका ३१ गाेरु प्रहरीको नियन्त्रणमा

विगतमा पनि यसरी नै अवैध रुपमा गाेरु ल्याउने गरेकाे देखिएको प्रहरीले जनाएको छ ।

कार्तिक ९, २०८२

रामचन्द्र न्यौपाने

31 cows illegally transported to Dolpa via East Rukum taken into police custody

What you should know

डोल्पा — पूर्वी रुकुम हुँदै अवैध रूपमा डाेल्पा पुर्‍याइएका ३१ गाेरु प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कागजातबिना नै लुकिछिपी डाेल्पा पुर्‍याएर काइके गाउँपालिकातर्फ लिँदै गरेका गाेरु गाेप्य सूचनाका आधारमा प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी सहायक निरीक्षक दलबहादुर सार्कीको नेतृत्वमा सादा पाेसाकमा खटिएकाे प्रहरी टाेलीले गाेरु नियन्त्रणमा लिएकाे  हाे । नियन्त्रणमा लिएका सबै गाेरु प्रहरीकाे सुरक्षामा कारागार प्राङ्गणमा राखिएको प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

'अघिल्ला वर्षहरुमा पनि यसरी नै अवैध रुपमा गाेरु ल्याउने गरेकाे देखिन्छ,' उनले भने, 'म आएदेखि यस प्रकारकाे कार्यमा थप कडाइ गर्न निर्देशन दिएको छु । अहिले पाँच हजार जरिवाना हुन्छ । एउटै व्यक्तिले पुन: यस्ता क्रियाकलाप दाेहाेर्‍याए एक महिना कैद र २५ हजार जरिवाना गर्ने कानुनी व्यवस्था रहेकाे छ ।

गाेरु ल्याउन लैजान सम्बन्धित पशु सेवा कार्यालयकाे अनुमति, वडाकाे सिफारिस र कहाँ लैजाने हाे त्यहाँसम्मकाे रुट परमिट पनि आवश्यक पर्छ । 'यी कागजात सँगै गाेरु मगाउने व्यक्तिले आवश्यक छ भनेर ल्याएको सम्बन्धित वडाकाे सिफारिस पनि ल्याउन भनेका छाैं, सबै कागजात जम्मा गरेमा कागज गराएर मात्र गाेरु छाेड्छाैं,' उनले भने । 

यी सबै प्रक्रिया पूरा नभए फिर्ता पठाउने वा मुद्दा चलाउने भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा.साजन राेकायले आवश्यक कागजात नभएकाले पाँच हजार जरिवाना गराइने बताए । 'बाँकी गाेरुकाे प्रयाेजन के कस्तो हाे प्रहरीले अनुसन्धान गर्ला, नियमअनुसार भेटेरिनरी कागजबिना यसरी अवैध रुपमा पशुचाैपाया ल्याउन लैजान मिल्दैन,' डा राेकायले भने ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully