विन्दराम विक भन्छन् : बस्ने एउटा घर थियो । त्यो पनि जल्यो । घरसँगै बुनिएका सबै सपना जले
जुम्ला — जुम्लाको पातारासी गाउँपालिकामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेको छ । पातारासी-४ स्थित डिल्लीचौरमा आगलागीबाट दुईतले घर खरानीमा परिणत भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत् तार सर्ट भएर स्थानीय विन्दराम विकको घरमा आगलागी भएको हो । प्रहरीले झन्डृ १९ लाख ९० हजार रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ ।
प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा अन्य सम्पूर्ण घरायसी सामग्री जलेर नष्ट भएको बताए । घरमा पालिएका चारवटा बाख्रा र दुईवटा खरायो पनि जलेर मरेको प्रहरीको भनाइ छ ।
आगोले जीवनभर कमाएर जोडेको घर खरानी पारिदिएको विन्दरामले बताए । उनले भने, ‘बस्ने एउटा घर थियो । त्यो पनि जल्यो । घरसँगै बुनिएका सबै सपना जले ।’
