प्रहरीले तिहारमा पटका पड्काउन प्रतिबन्ध लगाएपनि लुकाईछिपाई ल्याएर व्यापारीले बिक्री वितरण गर्ने गरेका छन् ।
सल्यान — प्रहरीले सल्यानमा ६८ प्याकेट पटका बरामद गरेको छ । जिल्लाको मुख्य बजार मानिने शारदा नगरपालिका १ श्रीनगरस्थित स्पन्दन गिफ्ट तथा कस्मेटिक पसलमा बिक्रीको लागि राखिएको पटका प्रहरीले बरामद गरेको हो ।
प्रहरीले तिहारमा पटका पड्काउन प्रतिबन्ध लगाएपनि लुकाई छिपाई ल्याएर व्यापारीले बिक्री वितरण हुने गरेका छन् ।
बरामद गरेको पटका इलाका प्रहरी कार्यालय सितलपार्टीमा राखिएको र छिट्टै नष्ट गरिने प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
यस्तै, प्रनाउ केसीले सल्यानकै पश्चिमी क्षेत्रमा पर्ने बन्गाड कुपिण्डे नगरपालिका १ सल्ली बजारबाट जाजरकोटबाट नेपालगन्ज बिक्री गर्नका लागि लैजाने क्रममा भे १ ज ३९३८ नम्बरको फोर्स गाडीमा लुकाईछिपाई राखेको ४८ किलो रातो च्याउ, सु.प्र. ०१– ००१ ख २४९४, ना ७ ख ९१०० नम्बरको ट्रकबाट ९ क्विन्टल ४ सय किलो सल्लाको आख्ला र क.प्र. ०२–००१ ख ७८२ फोर्स गाडीबाट ६ र अन्य विभिन्न स्थानमा १५ गरी २१ कार्टुन घरेलु मदिरा बनाउने मर्चा (औषधी) बरामद गरेको समेत जानकारी गराए ।
च्याउ र सल्लाको आख्ला बरामदपछि कारबाही प्रक्रिया अगाडी बढाउन चालक र सामग्री सब डिभिजन वन कार्यालय सल्लीबजारमा बुझाएको उनको भनाइ छ ।
