सदरमुकाम नजिकैको सडक भत्किएको महिना बित्दा पनि मर्मत भएन

राप्ती लोकमार्गबाट छेउमा रहेको सहिद गेट र पुष्पलाल चोकको बिचमा गत भदौ १३ गते पहिरो झरेको थियो ।

आश्विन ३१, २०८२

महेश केसी

The road near the district headquarters collapsed and has not been repaired even after a month.

What you should know

रुकुम पश्चिम — मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ । 

राप्ती लोकमार्गबाट छेउमा रहेको सहिद गेट र पुष्पलाल चोकको बिचमा गत भदौ १३ गते पहिरो झरेको थियो । बर्खे झरीका कारण त्यस दिन उक्त सडक भासिनुका साथै पोल भाचिँदा विद्युत् प्रसारण लाइनमा समेत असर परेको थियो भने तलपट्टी सहिद मैदानमा निर्माणाधीन बहुतले पार्किङ भवनमा पनि असर परेको थियो । त्यतिबेला विद्युत् मर्मत गरिए पनि सडक अहिलेसम्म मर्मत हुन सकेको छैन । 

भिरालो जमिन भित्रैदेखि कमजोर भएपछि त्यसयता हल्का सवारी साधनहरु मात्रै बजार प्रवेश गरिरहेका छन् भने यसमा पनि जोखिम छ । तत्काल नगरपालिकाले मर्मतको काम गर्ने आशा गरिए पनि अहिलेसम्म काम हुन नसकेको भन्दै स्थानीय निमबहादुर पुनले गुनासो गरे । ‘त्यत्ति ठूलो पहिरो पनि यो होइन । तर गाडी र मान्छेको भिडभाड हुने र मुख्य बजार नजिकको यो सडक एक महिना बितिसक्दा पनि किन मर्मत नभएको होला ?’ प्रश्न गर्दै उनले भने । 

यस विषयमा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले तिहारपछि यो समस्या समाधान हुने बताए । ‘त्यो पहिरो हेर्दा सानो देखिए पनि त्यहाँ तलैदेखी काम गर्नुपर्ने भएकाले अलि ठूलो लगानी लाग्ने अनुमान गरिएको छ । यसकारण हामी आवश्यक बजेटको चाँजोपाँजो मिलाउँदैछौं ।’ 

दसैंसम्म वर्षा जारी रहनु र अहिले तिहार पनि आएकाले काम हुन नसकेको उनले बताए । उनले तिहारलगत्तै काम अघि बढ्ने प्रतिबद्धता जनाए ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully