कर्णालीमा राजनीतिक गतिविधि शून्य 

गत वर्षहरुमा दसैंतिहारका अवसरमा दलहरुले चियापान र कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्ने गरेका थिए । तर यसपाली ती कार्यक्रम पनि आयोजना नै भएनन् ।

आश्विन २८, २०८२

कृष्णप्रसाद गौतम

Zero political activity in Karnali

What you should know

सुर्खेत — जेन–जी नेतृत्वको आन्दोलनपछि कर्णालीमा राजनीतिक गतिविधि शून्य भएको छ । आन्दोलनयता कांग्रेस, एमाले र माओवादीलगायत दलहरुको प्रदेश समिति बैठक नै बस्न सकेका छैनन् भने प्रदेशभरि राजनीतिक दलका औपचारिक कार्यक्रम पनि शून्य छन् ।

आन्दोलनका क्रममा एमाले र माओवादीको प्रदेश र जिल्ला कार्यालय तथा कांग्रेसको जिल्ला कार्यालयमा आगजनी गरिएको थियो । जसका कारण सबैजसो दलका कार्यालयहरु सुनसान छन्  ।

गत वर्षहरुमा दसैंतिहारका अवसरमा दलहरुले चियापान र कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्ने गरेका थिए । तर यसपाली ती कार्यक्रम पनि आयोजना नै भएनन् । आन्दोलनपछि नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु अन्योलमा छन् । 

केन्द्रदेखि अलमल भएकाले कार्यकर्तामाझ सकारात्मक सन्देश अझै प्रवाह गर्न नसकिएको कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाले बताए । आन्दोलनपछिको असहज अवस्थाका कारण अनौपचारिक रुपमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहे पनि औपचारिक बैठक तथा सार्वजनिक कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ । ‘चाडपर्वको समय भएकाले पनि राजनीतिक सक्रियता बढाउन सकिएको छैन,’ उनले भने, ‘आन्दोलनले पनि पार्टीका गतिविधिमा केही अन्योल बनायो ।’

आन्दोलनयता एमालेले पनि प्रदेश कमिटीको बैठक आयोजना गर्न सकेको छैन । एमालेको जिल्ला कमिटीको सचिवालय बैठक भने सोमबार बसेको थियो । बैठकमा सहभागी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिले एमालेमाथि चौतर्फी प्रहार भइरहेको भन्दै जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने बताएका थिए । 

उनले पार्टीका कार्यकर्तालाई जनताको घरघरमा गएर वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाउन जरुरी रहेको बताए । 

कर्णालीमा एमाले र कांग्रेसबीच सत्ता गठबन्धन छ । दुईदलीय संयन्त्रको बैठक साउन २५ गतेयता बस्न सकेको छैन । जेन–जी नेतृत्वको आन्दोलनपछि भदौ ३० गते मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप एकताबद्ध भएर अघि बढ्न अपिल गरेका थिए । 

माओवादीले असोज ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरु विभिन्न माध्यमबाट प्रवाह गरिरहेको जनाएको छ । तर माओवादीका औपचारिक कार्यक्रम पनि आन्दोलनयता शून्य छन् । ‘एकातिर राजनीतिक अस्थिरता, अर्कोतिर पार्टी कार्यालयहरु नै आगजनी,’ माओवादी कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले भने, ‘पार्टी कार्यालय सामान्य सरसफाइ गरेर विभिन्न जनवर्गीय संगठन र पार्टीका अनौपचारिक बैठकलाई त निरन्तरता दिएका छौं, तर औपचारिक कार्यक्रम तत्काल केही पनि गरिएको छैन ।’ उनले तिहारपछि प्रदेश कमिटीको बैठक बस्ने तयारी गरिएको जानकारी दिए । 

अहिले दलहरुले कार्यकर्तालाई झन् क्रियाशील बनाउनुपर्ने बेला भए पनि उनीहरुको मौनताले सकारात्मक सन्देश नगएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । ‘दलहरुको सक्रियता नहुँदा त्यसको मार प्रदेश सरकारका कामकारबाहीमा पनि परिरहेको छ, निर्वाचनको मिति घोषणा भइसकेकाले कार्यकर्तामाझ जागरण ल्याउन पनि अहिले नै दलहरु सक्रिय हुन जरुरी छ,’ उनले भने, ‘चाडबाडको बेला कार्यकर्ताहरु गाउँमा हुन्छन्, यहीबेला दलहरुले आफ्ना सकारात्मक सन्देश प्रवाह गर्न सके उनीहरुकै पक्षमा जनमत सिर्जना हुन्छ ।’

अधिवक्ता दुर्गाप्रसाद सापकोटाले नेताहरुको सक्रियता र दलका गतिविधि शून्य हुँदा कार्यकर्ताहरु पनि निराश भएको बताए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully