गत वैशाखमा राउटेका मुख्य मुखिया ४९ वर्षीय सूर्यनारायण शाहीको मृत्यु भएपछि अहिले राउटे समुदायले नयाँ मुखिया छनोट गरेको हो ।
What you should know
वीरेन्द्रनगर — फिरन्ते जीवन बिताइरहेको लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छनोट गरेको छ । ४३ वर्षीय शेरबहादुर शाहीलाई उनीहरूले आफ्नो नेता छानेका हुन्। उनलाई रास्कोटी समूहसँगै राउटे समुदायको मुख्य मुखिया बनाइएको छ ।
गत वैशाखमा राउटेका मुख्य मुखिया ४९ वर्षीय सूर्यनारायण शाहीको मृत्यु भएपछि अहिले राउटे समुदायले नयाँ मुखिया छनोट गरेको हो । बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा उनको मृत्यु भएको थियो । अत्यधिक मदिरा सेवनका कारण बिरामी परेका सूर्यनारायणले सुरुमा अस्पताल जान मानेनन् । अन्तिममा अर्को दिन जान्छु भनेकामा सोही राति उनको मृत्यु भएको थियो ।
तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण थिए । रास्कोटी शाही थरका उनलाई २८ वर्षको उमेरमा २१ वर्षअघि महामुखिया महिनबहादुर शाहीले मुखिया बनाएका थिए । आफूले एक्लै धान्न समस्या भएको भन्दै भाञ्जा नाता पर्ने महिनबहादुरले उनलाई मुखिया बनाएका हुन् । महिनबहादुरले आधाउधी काम गर्न पनि आफैंलाई लगाउने गरेको सूर्यनारायण बताउँथे ।
नयाँ मुखिया शेरबहादुर सूर्यनारायणकै भाइ हुन् । उनले अब राउटे समुदायको नेतृत्व गर्नेछन् । पहिले एक जना मात्र मुखिया हुने राउटे समुदायमा पछिल्लो समय ३ जना मुखिया बनाउने चलन चलेको छ । शोवंसी र कल्याल थरका पनि छट्टै मुखिया हुन्छन् । शोवंसीका डिलबहादुर शाही मुखिया छन् भने ६२ वर्षका वीरबहादुर शाही कल्याल थरका मुखिया हुन् । मुखियाले नै समुदायको नेतृत्व गर्छ । समुदायमा केही काम गर्नुपरे मुखियाले नै नेतृत्व गर्छन् ।
समुदाय बाहिर गएर राहतको व्यवस्थापन गरी जनतालाई बाँड्ने लगाएतका काम मुखियाले गर्नुपर्ने नयाँ मुखिया शेरबहादुरले बताए । सबैलाई मिलाएर लैजाने पनि उनले सुनाए । आफ्ना जनताका लागि काम गर्ने उनले बताए । यस्तै उनीहरूले सिकार गर्न जानुपर्छ । नयाँ ठाउँ सर्दा कहाँ सर्ने निर्णय पनि मुखियाले गर्छन् । अपुग खाद्यान्नको जोहो गर्ने , विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिसँग भेट्ने लगायतका काम पनि मुखियाले गर्नुपर्छ । बस्तीमा हुने अन्य विभिन्न क्रियाकलापको जिम्मा पनि मुखियाले नै लिनुपर्छ ।
२०८० कात्तिकमा महिनबहादुरको मृत्युपछि सूर्यनारायण मुख्य मुखियाका रूपमा अघि सरे । महिनबहादुरअघि उनका बुवा मानबहादुर शाही मुखिया थिए । यसपटक फेरि सूर्यनारायणकै भाइ राउटेका मुख्य मुखिया बनेका छन् । मृत्युपछि वा उमेर बढी भएर काम गर्न नसक्ने भएपछि नयाँ मुखिया छनोट गर्ने समुदायले नजिकको नातेदारलाईनै छनोट गर्ने प्रचलन राउटे समुदायमा छ ।
राउटे समुदायको मुखिया अहिलेसम्म पुरुष मात्र बनेका छन् । महिलालाई मुखिया नबनाए पनि निर्णय उनीहरूको पनि लिने गरेको राउटे परियोजनामार्फत बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
दसैंको तिनदिन अघि नयाँ मुखियाको जिम्मेवारी दिएपनि समुदायले साउनबाटै नयाँ मुखिया छान्ने कार्यलाइ अघि बढाएको थियो । साउनको महिना छनोटबारे दुईवटा बैठक बसे । शेरबहादुरको नाममा सहमति जुटेको थियो । मुखिया छान्नभन्दा एकदिन अघि फेरि बैठक बसेर अन्तिम निर्णय भयो । अनि मुखिया छनौट गरिएको जोडी शिक्षक खत्रीले बताए ।
यो अवधिमा समुदायले शेरबहादुरको परीक्षण गरेको उनले बताए । सबैले उनलाई मुखिया मान्न तयार भएपछि मुखिया बनाइएको हो ।
'मुखिया छनोट गर्दा पुरुषले मात्र हुन्छ भनेर हुँदैन । महिलाहरू पनि सहमत हुनुपर्छ,' उनले भने, 'अनि मात्र मुखिया छान्ने चलन छ । २० वर्ष नाघेको र विवाहितलाई मुखिया बनाइन्छ ।' सकेसम्म बालबच्चा भएका परिपक्व पुरुषलाई मुखिया बनाइने गरेको डिलबहादुर बताउँछन् । उनका अनुसार मुखियाको कुरा मान्न सबै जना सहमत हुनुपर्छ ।
मुखियाले भनेको सबैले मान्ने सहमति भएपछि केही समय उसलाई टेर्ने/नटेर्ने के छ भनेर विचार गर्नका लागि एकदेखि दुई महिनाको समय राखिन्छ ।
राउटे समुदाय कल्याल थरमा पनि नयाँ मुखिया छनोट गर्ने प्रक्रियामा थियो । अहिलेका मुखिया ६२ वर्षका वीरबहादुर शाहीको उमेर बढ्दै गएपछि प्रकाश शाहीलाई मुखिया बनाउने तयारी भएको थियो । प्रकाश पनि वीरबहादुरकै आफन्त पर्छन् । तर अहिले नै नेतृत्व वीरबहादुरले हस्तान्तरण नगर्ने भएपछि प्रकाशलाई छनोट नगरिएको जोडी शिक्षक खत्रीले बताए । प्रकाशका लागि पनि बैठक बसेका थिए । तर बाहिरको काम प्रकाशले गर्ने र अरू समुदायको सबै काम आफूले नै गर्ने वीरबहादुरले बताएको उनले सुनाए ।
राउटे समुदाय सुर्खेतको लेकबेसी नगरपालिका-९ चौरासेमा बसिरहेको छ । अहिले उनीहरूको जनसंख्या १ सय ३७ छ ।
