जुम्लालाई धार्मिक सहरका रुपमा स्थापित गर्न महानगरले कलात्मक गणेश मन्दिर निर्माण गरेको जनाएको छ ।
What you should know
जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका-५ जिल्ला प्रशासन कार्यालय अगाडि ललितपुर महानगरपालिकाको सहयोगमा कलात्मक गणेश मन्दिर बनेको छ । जुम्लालाई धार्मिक सहरका रुपमा स्थापित गर्न महानगरले कलात्मक गणेश मन्दिर निर्माण गरेको जनाएको छ ।
गणश मन्दिर निर्माणका लागि ललितपुरले २० लाख रुपैयाँ पठाएको थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले मंगलबार विधिवत् रुपमा पूजा गरेर मन्दिर उद्घाटन गरेका छन् । महानगर प्रमुख महर्जनले जुम्लालाई धार्मिक पर्यटनको सहर निर्माणका लागि २० लाख रुपैयाँ सहयोग दिइएको बताए । उनका अनुसार ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगेनी सम्बन्ध छ ।
'जुम्ला भाषा र संस्कृतिको जननी हो,' प्रमुख महर्जनले भने, ‘चन्दननाथलाई पर्यटकीय सहर निर्माणमा महानगरको साथ रहन्छ । ललितपुर, भक्तपुरतिर बनेका जस्तो कलात्मक मन्दिर बनेको छ । 'अहिले चन्दननाथ र भैरवनाथ मन्दिरले धार्मिक पर्यटन तानिरहेको छ,' महर्जनले भने, ‘अब गणेश मन्दिर पनि एक पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुनेछ ।’
चन्दननाथका नगरप्रमुख राजुसिंह कठायतले धार्मिक पर्यटनको प्रयाप्त संभावना भए पनि स्रोतको अभावले लगानी बढाउन नसकिएको बताए । जुम्ला बजारमा आउने पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार निर्माणमा नगरपालिकाको जोड छ, तर स्रोत साधनको अभावले सोचेअनुसार काम हुन सकिरहेको छैन ।’ ललितपुरबाटै शिल्पकारहरु ल्याएर आकर्षण कलात्मक मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समिति अध्यक्ष नवराज श्रेष्ठले बताए । उनका अनुसार साढे चार महिना लगाएर मन्दिर निर्माण गरिएको हो । जुम्लाकै ढुंगा कुदेर गणेश भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ ।
जुम्ला सदरमुकाम खलंगाको मुख्य बजारमा निर्माण गरिएको कलात्मक गणेश मन्दिरले बजारको सुन्दरतालाई थप बढाएको छ । प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरले प्रख्यात जुम्लामा धार्मिक पर्यटन प्रवर्द्धनमा गणेश मन्दिर निर्माणले थप टेवा पुर्याउने स्थानीय भक्तजनको विश्वास छ ।
