जुम्लाका दुई गाउँमै फल्यो दुई करोडको स्याउ 

दशक अघिसम्म बजार नपाएर गाउँमै गाईवस्तुलाई दानाको रूपमा प्रयोग हुँदै आएको स्याउ सडक सञ्जाल जोडिएसँगै देशका मुख्य सहरसम्म पुग्न थालेको छ।

आश्विन २७, २०८२

डीबी बुढा

Apples worth two crores grew in two villages of Jumla

What you should know

जुम्ला — जुम्लाको सिंजा गाउँपालिका-५ फुग्र गाउँका हिराबहादुर बुढाले यो वर्ष स्याउ बेचेर एक लाख ६८ हजार रुपैयाँ कमाए । उनले प्रतिकेजी ७० रुपैयाँमै बगैँचामै बेचे। व्यापारीहरू बगैँचामै पुगेर स्याउ लिए । उनको बगैँचामा रेड, रोयल र गोल्डेन जातको स्याउ रोपेका छन् ।

दशक अघिसम्म बजार नपाएर गाउँमै गाईवस्तुलाई दानाको रूपमा प्रयोग हुँदै आएको स्याउ सडक सञ्जाल जोडिएसँगै देशका मुख्य सहरसम्म पुग्ने गरेको छ । हिराबहादुरले भने, ‘अहिले स्याउले घरमै रोजगारी दिएको छ।'

सिंजा गाउँपालिका-६ जोडु गाउँका जगबहादुर बुढाले ढुवानी गर्न नपाउँदा बगैँचामै स्याउ कुहिने गरेको स्मरण गरे । पहिले स्याउको न मूल्य थियो, न त कुनै महत्त्व नै,' जगबहादुरले थपे, ‘अहिले स्याउ बेचेर गाउँमै मालामाल छ ।’ यसपालि जगबहादुरले स्याउ बेचेर ३ लाख ५२ हजार रुपैयाँ कमाए ।

१७ हजार वर्गमिटरमा फैलिएको उनको बगैँचामा ५ सय भन्दा धेरै फल दिने स्याउका बोट छन् । जोडुकै नरबहादुरले २ लाख १५ हजार रुपैयाँ, चन्द्रबहादुरले २ लाख ६० हजार ४ सय ८० रुपैयाँ र गोपाल बुढाले एक लाख ८५ हजार रुपैयाँ कमाए । दुर्गम गाउँमा यति धेरै स्याउ बेचेर आर्थिक भित्रिनु चानचुने कुरो भने होइन । 

सिंजा गाउँपालिका-६ का लालबहादुर बुढाले जोडु गाउँपालिकाका १ सय ११ घरले कम्तीमा ५० हजार रुपैयाँ बराबरको स्याउ बेचेको बताए । उनका अनुसार जोडु गाउँले मात्र यो वर्ष ५५ लाख ५० हजार रुपैयाँको स्याउ बेचेको तथ्याङ्क वडा कार्यालयको छ । जोडुका हरेक बारीमा स्याउ रोपिएका छन् । स्याउको बगैँचा भित्रै अन्य बाली लगाउने गरिएको छ । 

सिंजा गाउँपालिका-५ फुग्रगाउँका नर्मजङ रोकायाले ५७ क्विन्टल स्याउ बेचेको सुनाए । जसबाट ६ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ छ । फुग्रगाउँमा १ सय ६ घरधुरी छन् । न्यूनतम ८० हजार देखि एक लाख रुपैयाँसम्मको स्याउ बेच्ने किसानहरू गाउँमा धेरै छन् । सिंजा-५ को वडा कार्यालयको तथ्याङ्क अनुसार यो वर्ष मात्रै एक करोड ६० लाख रुपैयाँको स्याउ बाहिर जिल्ला निर्यात भएको छ । अहिले गाउँ सम्मै सडक जोडिएकोले स्याउ ढुवानीमा निकै सहज छ । 

कुनै बेला गाउँदेखि स्याउको भारी बोकेर एक दिनको पैदल हिँडेर खलंगा पुर्‍याउनुपर्ने बाध्यता थियो । तर अहिले बगैँचामै ट्रक पुग्ने गरेका छन् । यहाँको स्याउ सुर्खेत, नेपालगन्ज, कोहलपुर हुँदै पोखरा र काठमाडौँको बजारसम्म लैजाने गरिएको छ । स्याउ गाउँमै बिक्न थालेपछि बालबालिकाको पठन पाठनदेखि दुःखी बिरामी पर्दा अस्पतालसम्म जान सहज बनेको स्थानीयले बताए ।

अहिले सिंजाका फुंग्र र जोडु गाउँ स्याउले समृद्धि ल्याउने दिशामा अग्रसर छन् । जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा २० हजार ५ सय ११ मेट्रिक टन ४६ क्विन्टल स्याउ उत्पादन भएको कृषि कार्यालय जुम्लाले जनाएको छ । जसमा ९ हजार ३ सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको देखिएको छ । गत वर्ष ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेको थियो । 

जुम्लामा रेड, रोयल, गोल्डेन जातको स्याउ फल्छ । जिल्लाको ८ स्थानीय तहका ६० वटै वडामा स्याउ फल्छ । किसानले ए र बी ग्रेडको स्याउ जिल्ला बाहिर पठाए पनि सानो आकारको स्याउको चाना, जाम, जेली र जुस बनाउने गरेका छन् । स्थानीय सरकारले पनि स्याउको परिकार बनाउने तालिम र उपकरण दिँदै आएको छ । पहिले स्याउ पाक्दा चिन्ता हुन्थ्यो, अहिले स्याउको बोटमा फुल नफुल्दै उत्साह हुने गरेको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully