जुम्ला र रुकुम पश्चिमका २९ कैदीबन्दी अझै फर्किएनन्, अधिकांश फौजदारी अभियोगका

फरार अभियुक्तहरु जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र लागुऔषध मुद्दाका छन् ।

आश्विन २५, २०८२

कृष्णप्रसाद गौतम

Twenty-nine prisoners from Jumla and Rukum West have not yet returned, mostly on criminal charges

What you should know

सुर्खेत — जुम्ला र रुकुम पश्चिम कारागारबाट भागेका २९ कैदीबन्दी अझै फर्किएका छैनन् । रुकुम पश्चिमबाट ८८ र जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका थिए ।

फरार भएकामध्ये अधिकांश फौजदारी अभियोगका छन् । फरार अभियुक्तहरु जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र लागुऔषध मुद्दाका छन् । 

रुकुम पश्चिमस्थित कारागारबाट भागेका ८८ जना कैदीबन्दी मध्ये ६९ जना पक्राउ परेका छन् । त्यसमध्ये १६ जना अझै कारागारमा नफर्किएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले असोज १२ गते सार्वजनिक सूचना जारी गरी २० गतेभित्र कारागारमा फर्किन आग्रह गरेको थियो । त्यसयता ५ जना मात्र फर्किएको उनको भनाइ छ ।

‘सबैजसो फरार कैदीबन्दी जघन्य अपराधमा संलग्न छन्, जसका कारण समाजमा थप अप्रिय घटना हुन सक्ने जोखिम छ,’ उनले भने, ‘सबैतिर खोजी तीव्र पारेका छौ, अब कैदीबन्दीलाई लुकाउने, छिपाउने र आश्रय दिने व्यक्तिलाई समेत कसुरदारी ठानी कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछ ।’ रुकुम पश्चिमबाट फरार भएकामध्ये केही रुकुम पूर्वका छन् । रुकुम पूर्वमा कारागार नभएकाले उनीहरुलाई रुकुम पश्चिमको कारागारमा राखिएको थियो । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार भागेका सबै कैदीबन्दी जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका र सजाय भुक्तान गरिरहेका हुन् । उनका अनुसार मुगुका ५, जुम्लाका ३ र हुम्लाका २ जना कारागारको सम्पर्कमा आएका छैनन् ।

‘हुम्ला र मुगुमा कारागार नभएकाले सजाय भुक्तान गर्नुपर्ने कैदीलाई यहाॅ ल्याइन्छ,’ उनले भने, ‘११ जना सम्पर्कमा नआएपछि १९ गते सार्वजनिक सूचना नै जारी गरेका थियौं, त्यसयता एकजना सम्पर्कमा आएपछि प्रहरीले पक्राउ गरेको छ, अन्यको पनि खोजीलाई पनि तीव्रता दिएका छौं ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully