जेन–जी आन्दोलनको भावनालाई सम्मान गर्दै जनतामा देखिनेगरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्री कँडेलको निर्देशन

अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेको बताउँदै मुख्यमन्त्री कँडेलले सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा जोड दिए ।

आश्विन २५, २०८२

ज्योति कटुवाल

Chief Minister Kandel's instructions to the secretaries to work in a public manner while respecting the spirit of the Gen-G movement

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ गतेको जेन–जी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग बसेको बैठकलाई सम्बोधन गर्दै उनले सुधारलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे । अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेको बताउँदै मुख्यमन्त्री कँडेलले सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा जोड दिए ।

‘कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,’ उनले भने । उनले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्ने उल्लेख गरे ।

‘हामीले हिजोका कमजोरी सुधारका उपाय खोज्नुपर्छ,’ मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुने स्पष्ट पारे । 

मुख्यमन्त्री कँडेलले वर्तमान सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवहरूले पहल गर्न निर्देशन दिए ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully