मध्यराति राउटे बस्तीमा पसेर महिलालाई दुर्व्यवहार गर्न खोज्ने एक जनालाई युवाहरुले समातेर प्रहरीलाई बुझाए 

राउटे महिलाले नै आफूलाई जबरजस्ती गर्न खोजेको बताएपछि बस्तीकै युवाहरुले समातेर राखेका थिए ।

आश्विन २५, २०८२

ज्योति कटुवाल

A man who tried to molest a woman after entering Raute settlement in the middle of the night was caught by the youth and handed over to the police.

काठमाडौँ — शुक्रबार राति साढे १२ सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जंगलमा बस्दै राउटे समुदायमा मदिरा सेवन गरी पसेका एक युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ ।

नगरपालिकाको–५ नेटाका राजु रजालीलाई राउटे युवाहरुले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका हुन् । महिला एक्लै भएको छाप्रोमा प्रवेश गरेका उनलाई राउटे युवाहरूले नियन्त्रणमा लिएका थिए ।

राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीले मदिराले लठ्ठ बनेका युवकले महिलामाथि जवजस्ती गर्न खोजेपछि राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका बताइन् । राउटे महिलाले नै आफूलाई जबरजस्ती गर्न खोजेको बताएपछि बस्तीकै युवाहरुले समातेर राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले शनिबार बिहान बस्तीमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको बताए । पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

घटनाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोली बस्तीमा पुगेको छ ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully