बसाइँ सार्न भत्ता कुर्दै राउटेहरू

साउनयता सामाजिक सुरक्षा भत्ता नपाएका राउटे समुदायले दसैँ खर्च, बलि र चामलसमेत विभिन्न गाउँबाट उधारो लिनुपरेको छ ।

आश्विन २४, २०८२

ज्योति कटुवाल

Routes awaiting migration allowance

सुर्खेत — सुर्खेतको लेकबेशी नगरपालिका–१० चौरासे नजिकैको जंगलमा बस्दै आएका राउटे समुदाय तीन महिनाको भत्ता नआएपछि बसाइँ सार्न सकेका छैनन् । भत्ता नआएपछि उधारो तिरेर चिङ्गाड गाउँपालिका बसाइँ सर्ने तयारीमा रहेका उनीहरू सरकारले दिने सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ पनि उधारोमै मनाएको बताउँछन् ।

राउटेलाई सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकाले दिने गरेको थियो । दसैँ सकिएलगत्तै सर्ने योजना बनाए पनि उधारो तिर्न नसकेर एकै स्थानमा बसेको मुखिया सूर्यनारायण शाहीले बताए । सरकारले लोपोन्मुख राउटे समुदायलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो ।

साउनयता राउटे समुदायले भत्ता पाएका छैनन् । यसपटक भत्ता नपाएपछि दसैँ उधारोमै मनाए पनि अब उधारो माग्न समस्या भएको मुखिया शाहीको भनाइ छ ।

राउटे समुदायका ४० घर छन् । उधारोमै ३२ वटा खसी र ५५ वटा कुखुराको बलि दिएका राउटेहरू बताउँछन् । भत्ता नआउँदा नजिकैका गाउँबाट ४१ वटा बाख्रा, ५५ कुखुरा र ४१ बोरा चामल उधारोमै ल्याइएको शाहीले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully