जुम्लाको कोदो : उत्पादन घट्दै, माग बढ्दै

उनले भने, ‘कोदोको माग र मूल्य उच्च छ तर खेती विस्तारमा किसानको ध्यान जान सकिरहेको छैन ।’

आश्विन २३, २०८२

डीबी बुढा

Jumla millet: production decreasing, demand increasing

What you should know

जुम्ला — जुम्ला सिंजा गाउँपालिका–२ का जयप्रसाद शर्माको खेतमा कोदो रोप्न छाडेको झण्डै एक दशक बढी भयो । गाउँमा कोदोको महत्त्व कम हुने र निर्यात गर्ने बजारसम्म नभएको भन्दै उनले कोदो रोप्न छाडेका हुन् । तर अहिले बजारमा कोदोको पिठोको माग उच्च देखिएपछि उनी पछुतोमा छन् ।

कोदो खेती जिल्लाको एक नगरपालिका, सात गाउँपालिकाका ६० वटै वडामा हुने गरेको छ । स्थानीय जीवनबहादुर बुढाले भने, ‘बजारमा कोदोको माग उच्च छ तर गाउँमा कोदो खेतीको क्षेत्रफल घटिरहेको छ ।’ स्थानीय कोदो खेती छाडेर तरकारी तथा नगदेबालीमा लागेका छन् । कोदो स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक भएका कारण शहरी क्षेत्रमा यसको माग र मूल्य उच्च छ । 

जुम्ला सदरमुकाम खलंगामा लामो समयदेखि अर्गानिक वस्तुको व्यापार गर्दै आइरहेका तिला १ रारागाउँका अर्जुन बुढाले कोदोको माग र मूल्य उच्च रहेको बताए । उनले भने, ‘कोदोको माग र मूल्य उच्च छ तर खेती विस्तारमा किसानको ध्यान जान सकिरहेको छैन ।’ 

उनको पसलबाट अहिले राराताल हुँदै खलंगाको अवलोकन गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरुले कोदोको पिठो लैजाने गरेका छन् । प्रतिकेजी कोदोको पिठो दुई सय रुपैयाँ मूल्यमा बेचिरहेको उनको भनाइ छ ।

पहिले दुर्गमका बारीहरु कोदो खेतीले भरिभराउनै देखिए पनि अहिले कोदो खेती गरेको भेटिँदैन । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार २ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा मात्र कोदो खेती हुने गरेको छ । जसमा ३ हजार ८ सय ५० मेट्रिकटन कोदो उत्पादन भएको थियो । 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यो उत्पादन विगत वर्षहरुको तुलनामा निकै कम हो । कोदोबाली औषधीय गुण भएको बालीका रुपमा समेत चिनिँदै आएको छ ।

कोदोखेती गर्दै आइरहेको पुस्ता बुढो भइसकेको छ । युवा पुस्ता खेती किसानीमा चासो दिइरहेका छैनन् । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण घट्दै गएको छ । बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझो हुँदै गइरहेको छ । 

कम मेहनतमा उत्पादन बढी हुने यो बाली पोषणका हिसावले महत्त्वपूर्ण मानिन्छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँवस्तीमा हुने गरेको छ । 

खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो पछिल्लो समयमा मदिरा बनाउन मात्रै प्रयोग हुने गरेको स्थानीयले बताएका छन् । सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदोबाली हराउँदै गएको हो । 

अहिले सदरमुकाम खलंगाका ठूला होटल, रेस्टुराँ, होमस्टेहरुको कोदोको परिकार पाकिरहेको छ । कोदोको मदिरा, रोटी, केक, ढिँडो, सेलरोटी लगायतका परिकार बनाइन्छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully